काठमाडाैं : मध्य र तराई क्षेत्रमा बाढी, पहिरो र डुबानबाट पीडित बनेकाको उद्धार कार्य सोमबार सकिएको छ । उद्धार सकेलगत्तै राहत वितरणका प्रक्रियामा केन्द्र, प्रदेश र स्थानीय सरकार प्रवेश गरेका छन् ।
गृह मन्त्रालयका अनुसार उद्धारपछि सोमबार घर फर्कन मिल्ने फर्किन थालेका छन् । घरमा अझै बस्न नसकिने अवस्थाका विपद् पीडितलाई स्थानीय सरकारले शिविरमा राखेर संरक्षण गरिरहेको छ ।
“तत्काल उद्धारको काम सम्पूर्ण रूपमा सकिएको छ”, गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भन्नुभयो, “अब राहतका लागि अगाडि बढेको अवस्था हो । ” उहाँले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभएझैँ अबको सबै काम राहत केन्द्रित हुने जानकारी दिनुभयो । यसका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली २०७६ मा व्यवस्था भएअनुसार केन्द्र, प्रदेश र स्थानीय सरकारले आफ्नो भूमिका निर्वाह गर्नेछन् ।
ऐनअनुसार राहत र उद्धारको पहिलो भूमिका स्थानीय सरकारको रहेको छ । जिल्ला प्रशासन कार्यालयले विपद्मा समन्वयकारी भूमिकामा रहँदै शान्तिसुरक्षा र व्यवस्थापनमा सघाउने गर्छ । स्थानीय सरकारले धान्न नसक्ने भएमा र थप सहयोग चाहिएमा प्रदेश सरकारले आफ्नो तहबाट विपद्का लागि राहत र सहयोग गर्छ । केन्द्रले सबैलाई एकै छातामा राखेर विपद्का बेला काम गर्ने वातावरण र अत्यावश्यक सहयोग जुटाउने गरेको सुवेदीको भनाइ छ । गृह मन्त्रालयले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी तीनवटै निकायलाई तत्काल उद्धारमा लागि एकै पटक खटाएको उहाँले जानकारी दिनुभयो ।
राहतका लागि आवश्यक आर्थिक सहयोगको हकमा केन्द्रले यसअघि जाडो महिनाको शीतलहरमा पठाएको जगेडा रकम परिचालन गर्न गृह मन्त्रालयले तराईका स्थानीय तहलाई सुझाएको छ । त्यस्तै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष सञ्चालन नियमावली २०६३ तथा मनसुन आपत्कालीन कार्ययोजना २०७६ अनुसार उद्धार तथा राहत वितरण प्रभावकारी बनाइएको गृह मन्त्रालयले जनाएको छ । विभिन्न मन्त्रालय, सङ्घ, प्रदेश, स्थानीय तहसहित जल तथा मौसम विज्ञान विभाग, विकासमा साझेदार सङ्घसंस्थालाई विपद्मा हुने क्षति न्यून गर्न तथा राहत र उद्धारका लागि फरक जिम्मेवारी कार्ययोजनाले तोकेको छ । सो रकम जिल्लास्थित विपद् व्यवस्थापन समितिको कोषमा छ ।
मन्त्रालयअन्तर्गत रहेर सोमबार अत्यावश्यक सामग्री व्यवस्थापन गर्ने विषयमा छलफल भयो । “गैरसरकारी सङ्घसंस्थालाई राहतका लागि जुट्न भनियो”, आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले भन्नुभयो, “विपद् व्यवस्थापन समितिसँग मिलेर एउटै बाटोबाट राहत वितरण र व्यवस्थापनमा सघाउन सबै सहमत भएका छन् । ”
जनजीवन अझै अस्तव्यस्त
बाढी र डुबानमा परेका तराईका बासिन्दाको जनजीवन अझै अस्तव्यस्त नै छ । कतिपयको घर फर्किने बाटोमै नदी बगिरहेकाले अलपत्र छन् । बजार, पसल तथा सरकारी कार्यालय पूर्ण रूपले सञ्चालन हुन सकेका छैनन् । यसका कारण घर फर्केकाले पनि सहज जीवनयापन गर्न सकेका छैनन् ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज काफ्लेले जिल्लाका १८ वटा स्थानीय तहबाट प्राप्त विपद्को तथ्याङ्कअनुसार दोहोरो नपर्ने गरी
एकीकृत प्रणालीबाट राहत
वितरणको योजना बनाइएको बताउनुभयो । “जुन निकायले राहत दिन वा पठाउन चाहन्छ, त्यो अभिलेख राखेर स्थानीय तहमार्फत वितरण हुन्छ”, उहाँले भन्नुभयो, “नपुग रकम विपद् व्यवस्थापन कोष, प्रदेश सरकार र केन्द्र सरकारबाट माग गर्न सकिन्छ । ”
अहिलेको अवस्थामा बाहिरका सङ्घसंस्थाबाट राहत दिने सङ्घसंस्था रेडक्रसबाहेक अन्य सम्पर्कमा नआएको उहाँले बताउनुभयो । धनुषास्थित मुखियापट्टी मुसहरनियाका ४० घरपरिवारलाई शिविरमा राखेर संरक्षण दिइएको छ । होचो स्थान भएकाले अझै डुबान नघट्दा त्यहाँका बासिन्दा घर फर्कने अवस्थामा नरहेको काफ्लेले बताउनुभयो ।
महोत्तरीका अधिकांश बस्तीमा अझै पाँच÷छ फिट पानी जमेकाले स्थानीयवासीको जनजीवन ठप्प छ । “छाप्रा घर डुबेकै छन् । पक्की घरका छतमा बसेर ज्यान बचाइरहेकालाई पनि खाने बस्ने समस्या भएकै छ”, उहाँले भन्नुभयो, “तत्कालका लागि अलपत्रमा परेकालाई त्रिपाल टाँगेर शिविरमा राखिएको छ । ”
त्यस्ता शिविरमा दुई सयदेखि पाँच सयसम्म मानिस छन् । दिनभर आफ्ना डुबेको घरको अवस्था बुझ्ने, विपद्मा परेका अन्यलाई सघाउने र साँझ शिविरमा खाने बस्ने गरिरहेका छन् । स्कुल, उच्च भेगका भवन, रेलवे ट्र्याक आदिमा शिविरमा चौपाया, आवश्यक सामग्रीसहित पीडितलाई राखिएको उहाँले बताउनुभयो । राहत वितरणको सुरुआती चरणमा मात्र आफू रहेको उहाँले बताउनुभयो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले राहत बाँड्ने निकायले आफूखुसी गर्न नपाउने बताउनुभयो । समन्वयमा सरकारले तोकेको एकद्वार प्रणालीबाट राहत वितरण गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । “अझै पनि स्थानीयवासी घर फर्कने अवस्था नरहेको र कसको कति क्षति भयो भन्ने तथ्याङ्क सङ्कलन भइनसकेकाले तत्कालको राहत र संरक्षणको सुरुआती प्रक्रियामा अगाडि बढेको छ”, उहाँले भन्नुभयो । त्यस क्षेत्रमा कसैको बस्नै नहुने गरी घर भत्केकाले अलपत्र छन् भने कोही पानी कम भएपछि घर फिर्न थालेका छन् । सिरहामा डुबानमा परेकालाई राहत दिन विपद् व्यवस्थापन समितिको बैठक बसेर थप कार्य अगाडि बढाउने निर्णय गरिएको छ ।
बाढीसँगै पहिरोको पीडा
उदयपुरको समथर भेगमा बाढीको विपत्तिसँगै पहाडी भेगमा पहिरोको क्षति रोकिएको छैन । “पहाडी भेगमा पहिरोले घर भत्किएका २५ घरपरिवार र पहिरोको जोखिममा रहेका ६८ घरपरिवारलाई अन्यत्र सारिएको छ”, प्रमुख जिल्ला अधिकारी धु्रवबहादुर खड्काले भन्नुभयो, “दुवै थरीका गरी ५४३ जना प्रत्यक्ष अलपत्र परेका छन् । ” जोखिम क्षेत्रबाट सारिएका अधिकांश छिमेकी र आफन्तको शरणमा रहेको उहाँले बताउनुभयो । कटारी, ताम्दी, त्रियुगाको सुकौरा, लिमचुङपुङ र उदयपुरगढी क्षेत्रमा पहिरो गएको हो । पहिरो जाने क्रम नरोकिएकाले क्षतिको विवरण बढ्ने उहाँले औँल्याउनुभयो ।
बाढीबाट भने चारवटा घर बस्न नमिल्ने गरी भत्केका छन् । त्यसैका कारण २० जना अन्यत्र शरणमा छन् । उदयपुरमा बाढीले एक हजार ५२६ घर डुबानमा पर्दा सात हजार ५०३ जना प्रभावित भएका छन् । आइतबार शिविरमा राखिएकासहित एक हजार ४३३ जना सोमबार घर फर्के ।
मौसम सामान्य बदली
मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिण भेगमा सर्दै सीमा क्षेत्रमा पुगेको छ । यसअघि मध्य तथा पहाडी भेग छुन पुगेको न्यूनचापीय रेखा पछाडि हटेपछि भारी वर्षाको सङ्कट कम हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
“वर्षात्को समयमा पानी पर्ने क्रम त जारी रहन्छ तर बितेका दिनमा जस्तो भारी वर्षा सबैतिर पर्दैन”, मौसमविद् सुवास रिमालले भन्नुभयो, “तर केही भेगमा भने भारी वर्षा हुने र आकस्मिक बाढी आउने सम्भावना उच्च नै रहेकाले सतर्क भने रहनुपर्छ । ”
केही भेगमा ठूला बादल छुट्टिएर बसेको अवस्थामा रहेकाले त्यस क्षेत्रमा भारी वर्षा हुने छ । पश्चिमी भेगमा भने मध्य र पूर्वको तुलनामा बढी वर्षा हुने भएकाले नदीको सतर्कता तह पार हुन सक्ने भएकाले स्थानीय सतर्क रहनुपर्ने उहाँले बताउनुभयो ।
बाढी पूर्वानुमान महाशाखाले भने पश्चिम सेती जलाधार क्षेत्र, कर्णाली क्षेत्र र सुदूरपश्चिमका ठूलासाना नदीमा बाढी आउने जनाएको छ । सोमबार, मङ्गलबार पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीमा बहाव बढ्ने बताइएको छ । त्यस्तै कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, अछाम, सुर्खेत, जाजरकोट, सल्यान, बर्दिया, दाङ, रुपन्देही, कपिलवस्तु लगायतका क्षेत्रका साना खोलामा आकस्मिक बाढीको सम्भावना रहेको महाशाखाका जलविज्ञ विनोद पराजुलीले बताउनुभयो । तर खतराको तह तत्काल पार गर्ने गरी वर्षा हुने सङ्केत भने नरहेको उहाँको अनुमान छ । बुधबार वर्षाको क्रम न्यून हुँदा बहाव सामान्य हुने छ । समाचार गाेरखापत्रमा छ ।
प्रकाशित मिति: मंगलबार, असार ३१, २०७६