बाँके-चालू आर्थिक वर्षको ११ महिनामा नेपालगन्ज भन्सार कार्यालयबाट करिव साढे १५ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । आर्थिक वर्ष २०७५-७६ को जेठसम्म पेट्रोल, डिजल र एलपी ग्यास गरी कुल १५ अर्ब ६६ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो । कार्यालयले सो अवधिमा पेट्रोलियम पदार्थ आयात गरेवापत ४ अर्ब ६८ करोड ३० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । नेपालगन्ज नाका हुँदै आउने सामग्रीमा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थ आयातबाट हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार चालू आर्थिक वर्षको जेठसम्म १ लाख ५० हजार ७ सय ७४ किलोलिटर डिजेल भित्रिएको छ । जसको मूल्य १० अर्ब ७९ करोड ४७ लाख ९८ हजार ५७३ रुपैयाँ रहेको छ भने डिजेल आयातवाट भन्सारले २ अर्ब ९३ करोड ६८ लाख ५३ हजार रुपैयाँ राजस्व असुल गरेको छ । सो अवधिमा २ अर्ब २८ करोड १९ लाख ८९ हजार ४५८ रुपैयाँ बराबरको ३५ हजार ३ सय १२ केएल पेट्रोल भित्रिएको छ । पेट्रोलबाट भन्सारले १ अर्ब २६ करोड २४ लाख ४१ हजार राजस्व असुली गरेको जनाएको छ ।
त्यसैगरी सो अवधिमा २ अर्ब ५९ करोड ३३ लाख २५ हजार ४६५ रुपैयाँ बराबरको ३ करोड १३ लाख १२ हजार ६५ किलोग्राम एलपी ग्यास भित्रिएको छ । सो वापत ४८ करोड ३७ लाख ९८ हजार ४१६ रुपैयाँ राजस्व असुली गरेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले जानकारी दिए । यो नाका भएर करिव १ अर्ब रुपैयाँ बराबरको ६ करोड ३९ लाख ८ हजार ४१४ किलोग्राम पत्थर कोइला भित्रिएको छ भने सो वापत करिव पौने १९ करोड रुपैयाँ राजस्व असुली भएको कार्यालयको भनाइ छ । त्यसैगरी करिव ७६ करोडको १० करोड किलो सिमेन्ट क्लिङ्करसमेत आयात भएको छ । सो वापत भन्सारले करिव ३७ करोड राजस्व असुली गरेको छ ।
प्रमुख निरौलाका अनुसार जेठ मसान्तसम्म साढे ११ करोड किलो चामल आयात भएको छ । आर्थिक वर्ष २०७५/७६ को जेठसम्म ६ अर्ब ३ करोड २३ लाख बराबरको ११ करोड ५७ लाख ५७ हजार ५ सय ३ किलो चामल आयात भएको हो । जसबाट ४६ करोड ५१ लाख रुपैयाँ राजस्व असुल भएको उनको भनाइ छ । यस नाका हुँदै भन्सार छलेर ठूलो परिमाणमा चामल भित्रिने गरेको बताइएको छ ।
कार्यालयका अनुसार पश्चिम तराईका विभिन्न जिल्लामा सामान आयात हुने यस नाकाबाट चालू आर्थिक वर्षको ११ महिनामा हाईस्पीड डिजेल, चामल, एलपी ग्यास, पेट्रोल, आलु, सिमेन्ट क्लिंकर, औद्योगिक मेसीनरी, खाद्यान्न मकै, पथ्थर कोइलालगायत विभिन्न वस्तुको आयात बढी भएको पाइएको छ ।
कार्यालयले चालू आर्थिक वर्षको जेठसम्म सवा ११ अर्ब रुपैयाँ राजस्व असुली गरेको छ । कार्यालयको सो अवधिमा ११ अर्ब ९ करोड ७१ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा ११ अर्ब २७ करोड २४ लाख ९८ हजार अर्थात १०१.५८ प्रतिशत राजस्व असुली गरेको हो । यो राजस्व लक्ष्यभन्दा १७ करोड ५३ लाख ९८ हजारले बढी हो ।
कार्यालयको यस आर्थिक वर्षको जम्मा लक्ष्य १२ अर्ब ३३ करोड १ लाख १ हजार रहेको छ । प्रमुख भन्सार अधिकृत निरौलाले असारमा भन्सार असुली लक्ष्य बढी भएका कारण लक्ष्य अनुसार राजस्व संकलन गर्न कठिनाइ भएको बताए । समाचार काराेबार दैनिकमा छ ।
प्रकाशित मिति: मंगलबार, असार ३१, २०७६