–नवीन रायमाझी
विगत बीस वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका मित्र लव पराजुलीसँग धेरैपछि फोनमा सम्पर्क भयो । यताउताका र हामीहरुको पुरानो दिनको सम्झना पश्चात उनले आफ्नो केही तितोमिठो अनुभव सुनाए । यसैक्रममा अमेरिकामा बसोबास गर्दै गरेका नेपालीहरुलाई उनले केही वर्गमा विभाजित गरेर सुनाएको अनुभव र त्यसमा मेरो पनि अनुभवलाई थपघट गरेर हामी दुई मित्रले पाएको नेपालीहरुको अवस्थालाई यहाँ उल्लेख गर्ने प्रयास गरिएको छ । स्मरण रहोस यो हामी दुईको नितान्त व्यक्तिगत विश्लेषण हो र यसले कुनै आधिकारिक निकायको प्रतिनिधत्व गर्दैन । प्रस्तुत आलेखबाट कसैको मर्ममा चोट पुग्न गएमा माफी चाहन्छु । मित्र पराजुली र मेरो दृष्टिमा अमेरिकामा बसोबास गरिरहेका नेपालीहरु निम्नलिखित किसिमका छन । यो भन्दा कुनै अरु प्रकारका पनि भएमा जानकार व्यक्तिहरुले सूचना दिनुहुनेछ भन्ने आशा पनि गरेका छौ ।
पहिलो वर्ग, नेपालबाट र यतै कुनै प्रतिष्ठित विश्वविद्यालयमा अध्ययन गरेका व्यक्तिहरु, यो वर्गमा डाक्टर, इन्जिनियर र आइटीका जानकारहरु पर्छन । विश्वविद्यालयमा अध्ययन अनुसन्धान गर्नेेदेखि कुरियर कम्पनीमा तथ्याङ्क सङ्कलन गर्नेसम्मको काम गरे पनि उनीहरु मेचमा बसेरै काम गर्छन । यस्तो वर्गका नेपालीहरुको आफ्नो बेग्लै समाज छ र उनीहरु त्यो समाज भित्र मात्र सम्पर्कमा रहन चाहन्छन । नेपालको बारेमा खासै मतलब नगर्ने र कमाएको धन सम्पति यतै उपयोग गर्ने विचार भएका यिनीहरु न त नेपाललाई गाली गर्छन न त अमेरिकालाई गाली गर्छन । यो वर्गमा आफ्नो सानोतिनो व्यापार गरेर आर्थिक रुपमा सम्पन्न भएका व्यक्तिहरु पनि पर्छन, यिनीहरुलाई अनावश्यक काममा अल्झिरहने न त रुचि छ न त समय नै ।
दोस्रो वर्गमा आफू संंलग्न पेशाको परिचय सदुपयोग वा दुरुपयोग गर्दै अनेकौँ तिकडम गरेर यहाँ पुगेका तर बाहिर भने आउन र बस्न पटक्कै मन नभएको जस्तो अभिनय गर्ने व्यक्तिहरु । आफूले नेपालमा गरेको पेशाको ‘ह्यांगओभर’ले नछोडेका यस्ता व्यक्तिहरु आफूलाई म जस्तो जानकार यो संसार मै छैन कि जस्तो कुरा गर्छन । ट्याक्सी चलाउनेहरुले एउटा चिर्कटो छापेर आफूलाई पत्रकार भन्ने र सुस्त मनस्थितिको व्यक्तिहरुको स्याहार गरेर आफू म नेपालमा कर्णेल, डिएसपी वा सहसचिव थिए भनेर निरर्थक गनगन गरिरहने यिनीहरुलाई यस्तो कुरामा कसैलाई रुचि हुँदैन भनेर एउटा छुट्टै ट्युसनको व्यवस्था गर्नुपर्ला जस्तो छ ।
त्यस्तै, कागज र मसीको खर्च गरेर छापिने नेपाली पत्रिका ध्यान दिएर पढ्ने सायदै कोही होला, यी पत्रिकाहरु पढ्न नभई मासु खाएर निस्केको हड्डी पोको पार्न मात्र काम लागेको छ, यस्तै वर्षामा च्याउ उम्रेको जस्तो अनलाइन न्युज पोर्टलहरु पनि छन् जसलाई खोल्ने भनेको समाचार आएको व्यक्तिले र उसको आफन्तले मात्र हो । यस्ता पोर्टलमा निस्केको समाचार भनेको सम्बन्धित व्यक्तिले सामाजिक सञ्जालमा सेयर गरेर आफुलाई विशेष भएको आत्मरतीमा डुब्नु बाहेक केही अर्को अर्थ छैन । यस्तै नेपालमा केही माखो मार्न नसकेका तर यहाँ आएर गुजारा चलाएकाहरु हरेक विषय र प्रसंगमा उपबुज्रुक हुन् पछि पर्दैनन्, यिनीहरु पनि आफु केही विशेष व्यक्ति भएको कारणले अमेरिका आउन पाएको सम्झिन्छन, साथै अरुलाई बिनाकाम यस्तो गर्नुपर्छ र यस्तो गर्नुहुँदैन भनेर प्रवचन दिनमा रुचि राख्ने यिनीहरुलाई आफु जस्तो जानकार कोही छैन जस्तो भान छ । नेपालमा छोरा छोरीको स्कुलको फिस तिर्न नसकेर महिनौ स्कुलले बच्चा स्कुलमै बन्द गरेर राखेको र आफुले खाएको रासनको पैसा तिर्न नसकेर किराना पसलेले घाँटी समातेको दृश्य कसैलाई थाहा नभएको जस्तो गर्ने यिनीहरुको चुरीफुरी हेरेर हेरिनसक्नु हुन्छ ।
तेस्रो वर्गमा, विभिन्न संघ संघठन खोलेर त्यसको एउटा पद लिने, त्यो पदको काम भनेको माथि उल्लेख गरिएको वर्षे च्याउ जस्ता अनलाइन पोर्टलहरुमा फलानो संघका महासचिवले यस्तो भन्नुभयो र ढिस्कानो संगठनका अध्यक्षले उस्तो भन्नुभयो भन्ने मात्र हो अरु कुनै हैसियत छैन । कम्युनिष्टको ‘क’ सम्म सुन्न नचाहने यो देशमा आउँदा आजसम्म कुनै पनि कम्युनिष्ट पार्टीमा नलागेको र त्यस्ता पार्टीहरुलाई चन्दा नदिएको भनेर भिसा फाराममा टिक लगाएर आउनेहरुले कम्युनिष्ट पार्टीको विदेश विभाग खोल्नु आश्चर्य मात्र होइन कि यो देशको कानुन को बर्खिलाप पनि हो । यिनीहरुलाई यस्ता बकम्फुसे पदसँग कति मोह छ भने केही भएन भने उत्तर अमेरिका दोहारी गायन संघ भनेर नयाँ संघ खोल्दिन बेर लाग्दैन । अमेरिकामा दुःख छ भनेर भन्नु र बिहानदेखि बेलुकासम्म नेपाललाई गाली गर्नु यिनीहरुको दिनचर्या हो । अमेरिकी सरकारले पाखुरा समातेर नरोकेको भए म त बस्ने थिइन जस्तो कुरा गर्ने यिनीहरुलाई कुनै कारणबश यो देश छोडेर नेपाल फर्किनु पर्ला भन्ने भित्रभित्रै ठूलो डर छ तर बाहिर आफूलाई कुनै चिन्ता नभएको जस्तो देखाउछन ।
अन्तिम तथा चौँथो वर्गमा दिनको चौध घण्टासम्म काम गर्ने र पैसा बुझेको दिन सर्लक्क नेपाल पठाउनेहरु यो वर्गमा पर्छन । एउटै कोठामा चार पाँच जनासम्म बस्ने यिनीहरुको दिनचर्या भनेको काम गर्ने स्थान कोठाविच जति छ त्यति हो । नौ वर्ष न्युयोर्कमा बसेर टाइम्स स्क्वायर नदेखेको एउटा व्यक्तिलाई यो पंक्तिकारले पनि भेटेको थियो । संयुक्त भान्छा र शौचालय भएको कारणले कुखुराको अन्डा देखि टवाइलेट पेपरसम्ममा अरुले प्रयोग गरिदेला भन्ने डरले नाम लेखेर राख्नुपर्ने बाध्यता छ । जसरी हुन्छ काठमाडौँमा वा नजिकको बजार क्षेत्रमा घर बनाउने वा घर भइसकेकाहरुले तल्ला थप्ने एकमात्र लक्ष भएका यिनीहरुलाई ‘पेट भरि मासु भात खाइन्छ, काठमाडौँमा घर बनाइन्छ’ वर्गको नाममा माथिका अन्य वर्गकाले चिन्छन ।
केही तालिम लिएर वा पढेर आफ्नो सीप वा भाषा ज्ञान बढाउने भन्दा पनि छिटो धनी हुने इच्छाका कारणले यहाँ रहेका अधिकांश नेपालीहरुको काम भनेको घण्टा हान्ने (जति घण्टा काम गर्यो त्यति मात्र तलब पाउने, अरु सुबिधा नपाउने) मात्र हो । अरु एसियाली देशबाट यहाँ आएका व्यक्तिहरुको जीवनस्तर माथि पुगिसक्दा पनि नेपालीहरुको जीवनस्तर भनेको दुई गाँस टार्नेमा मात्र सीमित छ, केहि अपवादलाई छोडेर ।
यो आलेख पढ़िसकेपछि कोही कसैलाई आफ्नै मर्ममा प्रहर भएको जस्तो लागेमा त्यो केवल संयोग मात्र हो भन्ने जानकारी गराउन चाहन्छु । साथै हरेक कुराको बिरोध गर्नुपर्छ भन्ने विचार राख्ने मानसिक रोगीहरुबाट नकारात्मक प्रतिक्रिया पाउने पक्का छँदैछ, तर सकारात्मक सोचको साथ कमीकमजोरी औँल्याउने प्रबुद्ध पाठकहरुको प्रतिक्रिया तथा मार्गदर्शन पाउनुलाई म अहोभाग्य सम्झिउने छु ।
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०७४