क्रिकेट खेलको जननी इंग्ल्याण्डले कठिन प्रतिस्पर्धा पश्चात न्यूजिल्याण्डलाई सुपर ओभरमा हराउँदै पहिलो पटक विश्वकपको उपाधि जित्न सफल भएको छ । घरेलु मैदानमा भएको खेलमा दुबै टोलीले उत्कृष्ट खेल देखाएपनी फाइनल खेल विवादरहित भने रहन सकेन ।
दुबै टोली ‘फेयर प्ले’ को लागि चिनिने भएपनी यसरी विवाद आउनुको पछाडी उक्त खेलका अम्पाएर रहेका छन् । यसअघि पनि विवादमा परिसकेका अम्पाएर कुमार धर्मसेनाको गलत निर्णयको कारण इंग्ल्याण्डलाई १ रन अतिरिक्त दिइँदा खेल बराबरी हुँदै अन्ततः इंग्ल्याण्डको पक्षमा गएको थियो ।
इंग्ल्याण्डले लक्ष्य पछ्याउने क्रममा अन्तिम ओभरमा १५ रन चाहिएको थियो । उक्त अवस्थामा बलिङ गर्न आएका न्यूजिल्याण्डका बलर ट्रेन्ट बोल्टले फालेको सुरुको दुई बलमा ब्याटसम्यान बेन स्टोक्सले कुनै रन बनाउन सकेनन् ।
उक्त ओभरको तेश्रो बलमा स्टोक्सले छक्का प्रहार गर्दै खेल जीवितै राखेका थिए । चौथो बलमा बोल्टले फुलटस बल फालेकोमा स्कोक्सले डिप मिडविकेटमा शट प्रहार गरेका थिए । उक्त स्थानमा रहेका मार्टिन गप्तिलले स्टोक्सलाई आउट पार्न स्टम्पमै लाग्ने गरी थ्रो गरेका थिए । सम्भवतः उक्त बलले स्टोक्स आउट पनि हुनसक्थे । तर आफ्नो विकेट जोगाउनको लागि डाइभ हानेका स्टोक्सको ब्याटले स्टम्प र बलको बाटो छेक्न पुग्यो ।
उक्त बल ब्याटमा लाग्दै सिमारेखा नै कट्यो । यस्तोमा अम्पाएर धर्मसेनाले लेग अम्पाएरसँग सल्लाह गर्दै कुल ६ रन दिने निर्णय गरे । त्यसपछि दुई बलमा ३ रन बनाउनु पर्ने भएपनि इंग्ल्याण्डले २ रन मात्र बनाएपछि खेल बराबरी भएको थियो ।
सुपर ओभरमा पनि दुबै टोलीले समान १५ रन बनाएपछि दुईवटा बाउन्ड्री प्रहार गरेको इंग्ल्याण्डलाई विश्व विजेता घोषित गरिएको थियो । यसरी इंग्ल्याण्ड विजेता भएपनि अम्पाएरको गलत निर्णयको कारण न्यूजिल्याण्ड पराजित भएको भन्दै अहिले यो विषय विवाद भइरहेको छ । उक्त अवस्थाको ओभर थ्रोमा पाँच रन मात्र दिइनुपर्ने ६ रन दिइएको बताईन्छ ।
क्रिकेटको नियमको अनुच्छेद १९.८ मा उल्लेख भएअनुसार ओभर थ्रो वा फिल्डरले मनलाग्दी बल फालेमा कुल चार रन पेनाल्टी दिइने तथा ब्याटसम्यानहरुले दौडेर लिएको रन जोडिने उल्लेख रहेको छ । तर बल थ्रो गर्दा जति रन पुरा भइसकेको हुन्छ, त्यसलाई मात्र रन मान्नुपर्ने नियममा स्पष्ट उल्लेख छ ।
अम्पाएरले भने स्टोक्सले दौडेर दुई रन लिएको र ओभर थ्रो को चार रन भन्दै कुल ६ रन दिएका थिए । जसले खेललाई नै फरक बनायो । रिप्लेमा हेर्दा गप्तिलले बल फाल्दा दुई ब्याटसम्यान रन लिने क्रममा क्रिजमा क्रस गरिसकेका थिएनन् ।
खेल पश्चात न्यूजिल्याण्डका कप्तान केन विलियमसनले यहि घटनालाई लक्षित गर्दै नियन्त्रण भन्दा बाहिरको परिस्थिती भनेका छन् ।
त्यस्तै इंग्ल्याण्डका कप्तान ओइन मोर्गनले पनि यो घटनामा खुशी मनाउन नसकिने बताएका छन् । यस्तो निर्णयको मारमा आफु पनि पर्न सकिने हुनाले यो अचम्मलाग्दो भएको बताएका छन् ।
त्यस्तै ब्याटसम्यान बेन स्टोक्सले पनि उक्त घटनाको लागि बोल्टसँग माफी मागेका छन् । उनको आफ्नो गल्ती नभएपनि स्टोक्सले उक्त गलत निर्णयको मूल्य भने बुझेको स्पष्ट देखिएको छ ।
प्रकाशित मिति: सोमबार, असार ३०, २०७६