काठमाडौं । सरकारले बाढी, पहिरो तथा डुबान प्रभावित क्षेत्रमा तत्काल अत्यावश्यक सेवा सुचारु गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले रक्षा, गृह र भौतिक पूर्वाधार मन्त्रालयलगायत आवश्यक सबै निकायसँग समन्वय गरेर विद्युत्, सडक, खानेपानीलगायतका अत्यावश्यक सेवा सुचारु गर्ने निर्णय गरेको हो ।
सरकारले बाढीपहिरो पीडितको उपचार तथा राहतमा कुनै कमी हुन नदिने तथा प्रभावित क्षेत्रमा प्रकोप फैलन नदिने औषधि र उपकरणसहित स्वास्थ्यकर्मीहरूको टोली पठाउने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए ।
यसैगरी, बैठकले बाढीपहिरो र डुबान पीडितहरूको राहत, उद्धार र उपचारका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ । तर, बाढीपहिरो र डुबानबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई सरकारले कुनै राहतको घोषणा भने गरेको छैन ।
प्रदेश २ सरकारले बाढीपहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई ३÷३ लाख रुपैयाँ राहतस्वरूप उपलब्ध गराउने निर्णय गरेको छ । यसैगरी, प्रदेश २ सरकारले राहत तथा उद्धारका लागि प्रत्येक जिल्लाका विपद् व्यवस्थापन समितिलाई तत्कालका लागि १०/१० लाख उपलब्ध गराउने निर्णयसमेत गरेको छ । यसैगरी, प्रदेश ३ सरकारले मृतकका परिवारलाई जनही १ लाख रुपैयाँ राहत दिने घोषणा गरिसकेका छन् ।
संघीय मन्त्रिपरिषद् बैठकले बाढीपहिरो प्रभावितको उद्धार र राहतमा राज्यका सबै निकायलाई परिचालित गर्ने निर्णय पनि गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री बाँस्कोटाका अनुसार बैठकले त्यसका लागि सबै निकायसँग समन्वय गरेर काम गर्न गृह मन्त्रालयलाई पनि निर्देशन दिएको बताए ।
बैठकले गृह मन्त्रालय मातहतका सबै निकायसँग तथ्यांक संकलन गरेपछि मात्रै पीडितहरूका लागि आवश्यक आवास पुनर्निर्माणलाई अघि बढाउने निर्णय गरेको छ ।
सरकारले पीडितहरूको राहत, उद्धार र उपचारको काममा आवश्यक समन्वय गर्न संघीय, प्रदेश र स्थानीय तहका सबै जनप्रतिनिधिलाई आग्रह पनि गरेको छ । यसैगरी, सरकारले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध बाटो, विद्युत्, सञ्चारलगायतका अति आवश्यकीय सेवा तत्काल सुचारु गराउन पनि सम्बन्धित निकायलाई परिचालन गरिएको जनाएको छ ।
मन्त्री बाँस्कोटाका अनुसार सो घटनापछि स्वतःस्र्फूत रूपमा उद्धार, राहत तथा उपचारमा खट्ने सुरक्षा निकाय, अस्पताल, चिकित्सक, सरकारी तथा गैरसरकारी सबै संस्थाहरूलाई धन्यवाद दिने निर्णय पनि सरकारले गरेको छ । मन्त्रिपरिषद्को बैठकले आइतबार अपराह्नसम्म विपद्मा परी ५१ जनाको मृत्यु भएको पुष्टि गरेको छ । त्यसैगरी, ३१ जना बेपत्ता भएको, २८ घाइते र १० हजार ३८५ घरधुरी विस्थापित भएको जनाएको छ ।समाचार राजधानी राष्टिय दैनिकमा छ ।
प्रकाशित मिति: सोमबार, असार ३०, २०७६