बाढी, पहिरोले दर्जनौँको ज्यान लिइरहँदा नेपाली सेनाबाहेक अन्य सुरक्षा निकायसँग पर्याप्त उद्धार सामग्रीसमेत छैन । शुक्रबार राजधानीमै बाढी पस्दा उद्धारका लागि बोट चलाउनुपर्यो । अझ बाढीको उच्च जोखिममा रहेको तराई क्षेत्रमा उद्धारका लागि डुंगा अन्त्यन्त आवश्यक छ । तर, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा आवश्यक बोट उपलब्ध छैन ।
सशस्त्र प्रहरीले आफूसँग हाल २० वटा मात्र बोट रहेको बताएको छ ।
‘सशस्त्रमातहत न्यूनतम ५६ वटा बोट आवश्यक पर्छ,’ सशस्त्रका प्रवक्ता डिआइजी सुरजकुमार श्रेष्ठले भने, ‘तर, हामीसँग अहिले २० वटा मात्रै बोट छन् । यो पर्याप्त होइन । सांगठनिक रूपले कम्तीमा पनि गुल्ममा एउटा बोट हुनु जरुरी छ । माग गरिरहेका छौँ, तर बजेट अभावका कारण बोट खरिद गर्न सकेका छैनौँ ।’उद्धारको अग्रपंक्तिमा खटिने नेपाल प्रहरीसँग त त्यति पनि बोट छैन । प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षक सचिवालयका एसपी रमेश थापाले पर्याप्त बोट नभएको बताए । ‘प्रहरीसँग अहिले कति बोट छन्, जानकारी भएन । तर, पर्याप्त छैनन्,’ उनले भने ।
नेपाली सेनाले भने आफूहरूसँग पर्याप्त बोट रहेको बताएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार बाढीमा परेकाहरूको उद्धारका लागि सेनासँग आइएमबी बोट ५२, आरबी बोट ३३ र आइबी बोट ३४ गरी कुल ११९ वटा बोट छन् ।
हेलिकोप्टर सेनासँग मात्रै
प्राकृतिक विपत्तिका वेला उद्धारमा परिचालन गर्न हेलिकोप्टर अत्यन्तै प्रभावकारी साधन मानिन्छ । यो सेनाबाहेक अन्य सुरक्षा निकायसँग छैन । सेनासँग उद्धारमा केन्द्रित आठवटा हेलिकोप्टर छ । जसमध्ये एउटा धनुषा र अर्को इटहरीमा तैनाथ छ । बाँकी ६ वटा भने काठमाडौंमा छन् ।
कोसँग कति जनशक्ति ?
सेना
नेपाली सेनामा करिब ९६ हजार जनशक्ति छ । प्राकृतिक विपत्मा परेकाहरूको उद्धारका लागि सेनाले विपत् व्यवस्थापन निर्देशनालय नै गठन गरेको छ । यसअन्तर्गत ४ चार हजार तीन सय चार सैनिक कार्यरत छन् । जसमध्ये १७ सय ८२ विशेष तालिम प्राप्त सैनिक दस्ता हुन् । सेनाले यस्तै तालिम पृतनाअन्तर्गत पनि दिने गर्छ । पृतनाअन्तर्गत यस्ता दस्ता दुई हजार तीन सय ४४ छन् । त्यसैकारण ठूला विपत्का वेला सेनाले १६ हजार चार सय ३८ सैनिक एकैपटक परिचालन गर्न सक्छ । शुक्रबार र शनिबारको बाढीमा भने सेनाले आठ हजार मात्रै सैनिक उद्धारमा परिचालन गरेको छ ।
नेपाल प्रहरी
नेपाल प्रहरीमा अहिले कुल ७६ हजारको दरबन्दी छ । प्राकृतिक विपत्तिमा परेकाहरूको उद्धारमा तालिम दिन नेपाल प्रहरीले विपत् व्यवस्थापन महाशाखा गठन गरेको छ । यस्ता तालिमप्राप्त सुरक्षाकर्मी प्रहरीसँग कम छन् । तर, आवश्यक पर्दा प्रहरीले कुल दरबन्दीको ७५ प्रतिशत अर्थात् करिब ५६ हजारलाई खटाउन सक्छ । शुक्रबार र शनिबारको उद्धारमा भने प्रहरीका तर्फबाट करिब २८ हजार जनशक्ति खटिएको थियो ।
सशस्त्र प्रहरी
सशस्त्रको कुल जनशक्ति अहिले ३७ हजार छ । प्राकृतिक विपत्तिमा उद्धारका लागि सशस्त्र प्रहरीले पनि विपत् व्यवस्थापन शिक्षण तालिमकेन्द्र गठन गरेको छ । सशस्त्रले पनि कुल जनशक्तिको ८० प्रतिशत अर्थात् ३० हजार जनशक्ति एकैपटक परिचालन गर्न सक्छ । समाचार नागरिक दैनिकमा छ ।
प्रकाशित मिति: सोमबार, असार ३०, २०७६