अविरल वर्षापछि आएको बाढीले जनकपुर-जयनगर रेलवेको नवनिर्मित लिक बगाइदिएको छ। बिहीबारदेखि आएको पानीपछि उर्लिएको कमला नदीले भारतीय सीमा नजिकै इनरूवामा दुई सय मिटरजति लिक बगाइदिएको रेल्वे विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए।
‘कति ठाउँमा त हाम्रा प्राविधिक जान पनि सकेका छैनन्। आज पनि कतिपय ठाउँमा १ मिटरजति पानी जमेको छ,’ मिश्रले भने,‘अरू ठाउँमा पनि बाढीको क्षतिबारे विवरण संकलन गरिरहेका छौं।’ उनका अनुसार जनकपुरको रेलवे स्टेशन पनि डुबानमा परेको छ भने क्वाटरहरूमा पनि पानी पसेको छ। जयनगर-जनकपुर रेलवे निर्माण गत असोजमा सकिएको थियो।
कात्तिक पहिलो साता प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा भारतीय बजार जयनगरबाट रेल आएको थियो। उक्त रेलले लिकमा बिछ्याउने गिटी (ब्यालस्ट) बोकेको थियो। सरकारले जयनगर-जनकपुरमा चलाउन भारतबाट रेल किन्ने प्रक्रिया अघि बढाइसकेको छ।
जयनगरदेखि बर्दिबाससम्म ६९ किमी रेलमार्गमा आठ स्टेशन र छ हल्ट गरी १४ विश्रामस्थल तोकिएको छ। विभागको साइट कार्यालय जनकपुरका अनुसार जयनगर, खजुरी, इनरुवा, खजुरी, वैदेही, कुर्था, महोत्तरीको खुट्टापिराडी र बर्दिबास गरी आठ स्टेशन छन्। महिनाथपुर, देउरी परवाहा, जनकपुर, महोत्तरीको लोहारपट्टी, सिंग्याही र रामनगर गरी ६ स्थानमा हल्ट छन्।
स्टेशनमा बढी र हल्टमा थोरै समयका लागि रेल रोकिने छ। हल्टमा थोरै समयका लागि गाडी रेल रोकिने भएकाले सिंगल लाइनको लिक रहने छ। जयनगरमा चार लाइन, इनरुवामा पाँच लाइन, खजुरीमा तीन लाइन, कुर्थामा पाँच लाइन, वैदहीमा तीन लाइन र जनकपुरमा एक लाइन रहने छ।
प्रकाशित मिति: आइतबार, असार २९, २०७६