काठमाडौं – पानीको सतह घटेको भन्दै भारतीय पक्षले कोशी ब्यारेजका आधाजसो ढोका पुनः बन्द गरेको छ ।
गएराति सबै ५६ वटा ढोका खोलिएकोमा आइतवार मध्याह्नसम्म आइपुग्दा २६ वटा ढोका भारतीय पक्षले बन्द गरिसकेको छ । ३० वटा ढोका खुला छन् ।‘वाटर फ्लो हेरेर ढोका बन्द गर्ने/खोल्ने कुरा हुन्छ,’ सप्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले लोकान्तरसँग भने, ‘अहिले ३०/३२ वटा ढोका खुला रहेको भन्ने जानकारी छ ।’
कोशीमा पानीको सतह २ लाख ३४ हजार क्युसेकमा झरिसकेको उनले बताए ।यता सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पनि पानीको सतह घटेकाले ढोका खोल्नु र बन्द गर्नु सामान्य कुरा भएको बताए ।
झण्डै पौने ४ लाख क्युसेक पुगेको पानीको सतह निकै घटेको उनले बताए । भारतले कोशी नदीमा बनाएको उक्त ब्यारेजका कारण नेपाली भूमि बर्सेनि डुबानमा पर्ने गरेका छन् । समयमा ब्यारेजको ढोका समेत नखोल्दा नेपालमा ठूलो क्षति पुग्ने गरेको छ ।
प्रकाशित मिति: आइतबार, असार २९, २०७६