अमेरिका । प्रख्यात गितकार इन्दिरा चेम्जोङको गीति एल्बम ‘‘अर्को जन्म’’ बजारमा आएको छ । एल्बम न्यूयोर्कको ज्याक्सन हाइटमा एक भव्य कार्यक्रमकाविच विमोचन गरिएको छ । पाँचवटा नेपाली र एक लिम्बु भाषाको गरि ६ वटा गीत समावेश गरिएको एल्बमका ५ वटा म्युजिक भिडियो समेत विमोचन गरिएको छ । विमोचनका प्रमुख अतिथि एवं नेपाली कन्सुलर कृसु क्षेत्रीले इन्दिराका गितहरु संस्कृति, देशभक्ति र प्रेमकथाको त्रिवेणी भएको बताए । उनले इन्दिराका रचनाहरुमा माटो बोलेको र मन पोखिएको बताए । विमोचनका अतिथि कोलम्बिया विश्वविद्यालयका प्राध्यापक डा तारा निरौलाले प्रवासको दैनिकीमा समय छुट्याएर लेखनलाई निरन्तरता दिन सक्नु नै अतुलनिय कार्य भएको बताए । उनले एल्बमका गीतहरुले मानवीय संवेदना, प्रेम र जीवनलाई सुनौलो रंग दिन सकेको टिप्पणी गरे ।
नेपाल अमेरिकन कलाकार संघको आयोजनामा सम्पन्न विमोचन कार्यक्रममा गितकार चेम्जोङले एल्बम बिक्रीबाट संकलन हुने सम्पूर्ण रकम धनकुटास्थित पुण्य उच्चमाध्यमिक विद्यालयको भवन निर्माणार्थ सहयोग गरिने बताइन । न्यूयोर्कका प्रख्यात भिडियोकर्मी शम्भु मोक्तानको निर्देशनमा अमेरिकाका विभिन्न रमणिय स्थानहरुमा छायाँकन गरिएको म्युजिक भिडियोहरुमा, कुशल अभिनेत्री अकेशा विष्ट, नायक सौरभराज तुलाधर, सुमित्रा लिम्बु लगायतका कलाकारहरुको अभिनय रहेको छ । कार्यक्रममा अभिनेत्री अकेशा विष्टले आफूले भर्खरै न्यूयोर्क फिल्म एकेडेमीबाट स्नातक गरेको र नयाँ योजनाका साथ अघि बढीरहेको बताइन ।
म्युजिक भिडियो तल हेर्न सक्नुहुनेछ ।
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०७४