काठमाडौं । नदी अतिक्रमण र अव्यवस्थित बसोबासका कारण उपत्यकामै पछिल्लो समय डुबानका घटनाले तीव्रता पाएको छ । जसका कारण काठमाडौ, भक्तपुर र ललितपुर नै जोखिममा पर्न सक्ने भय बढ्दै गएको छ ।
गत वर्ष हनुमन्ते खोला थुनिँदा भक्तपुर डुबानमा परेको थियो । डुबानले १ अर्ब क्षति पुगेको थियो । गत शुक्रबारदेखि जारी वर्षाका कारण काठमाडौंको कलंकी खसीबजार र कालीमाटीको कुलेश्वर क्षेत्र डुबानमा परेको छ । डुबानले मालपोत कार्यालय, महानगरीय प्रहरी प्रभाग र महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालयसमेत डुबानमा परेको छ । हनुमन्ते खोलाको बाढी यस वर्ष पनि जतिबेला पनि सहरमा पस्ने खतरा उस्तै छ । ललितपुरका केही क्षेत्र डुबानमा परेका छन् ।
बाढी खोलामा यसरी पस्नुको पछाडि भने मानव सिर्जित समस्या नै मुख्य रहेको विज्ञहरूले दाबी गरेका छन् । विपद्विद् मधुकर उपाध्याय खोलाखोल्सा अतिक्रमण गर्दा यस्तो समस्या सिर्जना भएको बताउँछन् । ‘हामी आफैंले खोला खोल्सा अतिक्रमण गरेका छौं, पानी बग्ने मार्ग नै सानो बनाएका छौं त्यसैले यस्तो समस्या आयो,’ उनले राजधानीसँग भने ।
किन पस्न थाल्यो काठमाडौ, भक्तपुर र ललितपुरमा बाढी ?
सहरी क्षेत्र डुबान– मानिसले नै निम्त्याएको खतरा
भूकम्पजस्तै सहरमा बाढीको जोखिम उच्च
खाेला अतिक्रमण गरेपछि बस्तीमा बाढी
सस्तो जग्गा भन्दै किनारामा जग्गा किन्नेहरू खतरामा
काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारी पनि नदी अतिक्रमणकै कारण बाढी घर बस्तीमा पसेको बताउँछन् । ‘नदी अतिक्रमण गरिएको छ, नदीमाथि फोहोर लगेर फाल्छौं त्यसैले बाढी आफ्नो क्षेत्रबाहिर जान बाध्य छ,’ उनले राजधानीसँग भने ।
उनी विपद् निम्तनुका पछाडि मानवीय कारण मात्र नभएर प्राकृतिक कारण पनि रहेको बताउँछन् । उनी भन्छन्, ‘पानी सानो भएको ठाउँमा माटो थुप्रिँदै जान्छ । अनि, सधैं बाढी नआउने तर एकैचोटि ठूलो बाढी आउँदा पनि खोलो थुनिने गरेको छ ।’
‘वर्षा पनि परिवर्तन भएको छ, एकै ठाउँमा पानी ओइरिने गर्छ । अनि, पानीको मार्ग र बाटो साँघुरो छ । त्यसले पनि समस्या निम्तने गरेको छ,’ उपाध्यायले भने ।
उनी पानी जमिनमा बिस्तारै सुसिने हो भने कम हुने तर त्यस्तो जग्गा जमिनसमेत भरिएको तर्क गर्छन् । ‘कौसीको पानी सिधै सडकमा पुग्छ, सडकबाट सिधै खोलामा पुग्छ, खोला सानो बनाइएको छ, पानी फैलिन पाउँदैन, यस्तो हुँदा ठूलो क्षति हुन जान्छ,’ उनले भने ।
सस्तोको नाममा खोला खोल्सा किनारा आसपासमा जग्गा किन्नेहरू झनै खतरामा छन् । तिवारी सुरक्षित ठाउँमा जग्गा जमिन किनेर घर बनाउनुपर्ने र सस्तो भन्दैमा खोला किनारामा किन्न नहुने बताउँछन् । उनले खोला खोल्सामा फोहोर थुपार्ने र सफा नगर्ने कारण पनि यस्तो भएको भन्दै नागरिक आफैं पनि सचेत हुनुपर्ने बताउँछन् ।
भूकम्प जस्तै सहरमा बाढीको जोखिम
विज्ञहरू सहरमा भूकम्पको जस्तै जोखिम बाढीको रहेको बताउँछन् । २५ वर्षअघि जस्तो पानी काठमाडौं उपत्यकामा आउने हो भने यसले विशाल क्षति गर्नेे उनीहरूको तर्क छ । ‘अहिले त क्षति नै भएको छैन भन्दा हुन्छ,’ उपाध्ययले भने, ‘२५ वर्ष अघिजस्तो वर्षा हुने हो भने हामीले नसोचेको क्षति हुन जान्छ ।’
२५ वर्षअघि ५ सय ४० मिलिमिटर पानी परेको थियो । शुक्रबार र शनिबार उपत्यकामा करिब १ सय ५० मिलिमिटर पानी परेको बताइएको छ ।
विज्ञहरू अव्यवस्थित बसोबास, जथाभावी तयार पारिएका संरचना र पानी बग्ने ठाउँको अवरोधले उपत्यकाका खोला किनारा आसपासका बस्ती जहिल्यै पनि खतरामा रहेको बताउँछन् ।
‘प्रकृतिको भर हुन्न, जहिल्यै पनि आउन सक्छ, जत्रो पनि आउन सक्छ, हामी आफैं सचेत हुने हो,’ उपाध्याय थप्छन् ।
२०४५ सालमा डोल क्षेत्र घोषणा गरिएको थियो । काठमाडौं उपत्यका विकास प्राधिकरण गठन गरी अग्ला र कडा माटो भएका ठाउँमा मात्र घर बनाउन दिने र नदी आसपासका जग्गा खेतीपातीलाई जोगाउने गरी उपत्यकाको गुरु योजना तय भएको थियो । उक्त मापदण्ड पालना नगरिएका घर प्राधिकरणले भत्काउने गरी ऐनको मस्यौदासमेत तय भएको थियो ।
पञ्चायती व्यवस्था ढलेसँगै बहुदल आयो र त्यसपछि खोला अतिक्रमण बढेर गएको हो । ‘बहुदल आए पनि खोलानाला अतिक्रमण धेरै भयो, त्यसको समस्या अहिले देखिन थालेको छ,’ तिवारी भन्छन् ।
उनका अनुसार हाल खोला व्यवस्थित बनाउने काम अहिले प्राधिकरणले गरिरहेको छ । धोबीखोला कोरिडोर बनेको र उपत्यकाका सबै खोला किनारा व्यवस्थित बनाउने काम भइरहेको छ ।
विपद्विद् उपाध्याय भने अव्यवस्थित बसोबास र खोलालाई सानो ठाउँमा सीमित बनाएको तथा कहीँ खोलालाई खोल्सो जत्रो बनाएको भन्दै यसबाट भविष्यमा ठूलो खतरा आउने हो कि भनेर चिन्ता व्यक्त गर्छन् । समाचार राजधानी राष्टिय दैनिकमा छ ।
प्रकाशित मिति: आइतबार, असार २९, २०७६