रौतहट — अविरल वर्षापछि बागमति र लालबकैयाको नदिको पानी पसे पछि रौतहटको सदरमुकाम गौर डुबेको छ । अहिले झण्डै ७/८ फिट पानी छ । घर भित्र पानी पसे पछि स्थानियले हारगुहार गरिरहेका छन् । सुसरक्षाकर्मी समेत बाहिर निस्कन नसक्ने अवस्था बनेपछि उद्धारमा कठिनाई भएको छ । सुरक्षाकर्मीले उद्धार गर्न सकेको छैनन् ।
प्रमुख जिल्ला अधिकारी किरण थापाले सदरमुकामको अवस्था गम्भिर भएको बताए। ‘पानीको सतह धेरै माथि आइसकेको छ। उद्धारमा कठिनाई भईरहेको छ,’ ‘उनले भने, ‘पानीको निकाश नभएकोले सदरमुकाम गौर डुब्यो।’ अधिकांश मानिहरु छतमा बसेका छन्। पानी पर्न छाडेको छैन्। भारतिय सीमाक्षेत्रमा भारतले लगाएको बाँधका कारण पानीले निकाश पाएको छैन।
लालबकैया र बागमतिको बाँध भत्किएर पानी गाउँ पसेको हो। अहिले अवस्था नाजुक बनेको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताए। ‘हेलीकप्टरबाट उद्धार गर्न जरुरी छ,’ उनले भने, ‘अहिले अवस्था भयवित छ। एकतला घर भित्र पुरै पानी छ।’
गौर बजार डुबानमा परे पछि कसैको घरमा चुल्हो बलेको छैन्। सीमाक्षेत्रको बाँध भत्किन नदिन पारीका सुरक्षाकर्मीहरु बाँधमै आएर सुरक्षा दिईरहेका छन्। बाँधकै कारण सदरमुकाम डुबानमा पर्दै आएको छ।
भारतीय पक्षले लालबकैया र बागमतीलाइ जोडेर दशगजा क्षेत्रमा करिव २५ फिट अग्लो तटबन्ध निर्माण गरेपछि पानी थुनिएर सदरमुकाम गौर डुबानमा पर्दै आएको छ। दुई वर्ष अघि यस्तै अवस्थमा भारतीय क्षेत्रको बाँध भत्किएको थियो।
डुंगाबाट सशस्त्रले उद्धारको तयारी गरेको जनायो। अहिले सुरक्षाकर्मीको ब्यारेक पनि सबै डुबेको छ। उनिहरु समेत बाहिर निस्कन सकेका छैनन्। बाढीले सदरमुकाम गौरसहित जिल्लाका ८० प्रतिशत भुभाग डुबानमा परेको छ। बकैया र बागमतीको बाँध ठाउठाउमा भत्किँदा बाढीको पानि बस्तिमा प्रवेश गरेको हो।
लालवकैया खोलाको बाढीले बनुयाद, कटहरिया र देबाहिगुनाही र बन्जारहा नजिक तटबन्ध बगाएपछि सो क्षेत्रका करिव ६ नगरपालिका ढुवानमा परेको छ। यस्तै बागमती नदिको बाढीले गढिमाइ नगरपालिकाको दुई स्थानमा बाँध भत्काएपछि सो क्षेत्र डुवान भएको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
प्रकाशित मिति: शनिबार, असार २८, २०७६