काठमाडौं : शुक्रबार बिहान नेपालगञ्जबाट आएको यति एयरको एटिआर जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा चिप्लिएको छ। ६६ यात्रु र तीन चालक दलका सदस्यसहित आएको उक्त जहाज अवतरणका क्रममा बिहान ११ बजेर पाँच मिनेट जाँदा धावनमार्गमा चिप्लिएको थियो।
जहाजमा रहेका चालक दलका सदस्य र ६३ यात्रु घर फर्किसके पनि तीन जनालाई अस्पताल भर्ना गरिएको छ। सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको आकस्मिक कक्षमा उनीहरूलाई भर्ना गरिएको हो।
तीन जनामध्ये एकजना पथरीका बिरामी थिए। उनी उपचार गर्न भनेरै काठमाडौं आएका थिए । अर्का एकजना यात्रुको आँखामा अप्रेसन गरिएको थियो। उनको आँखा जहाजमा ठोक्किए पनि धेरै चोट पटक लागेको छैन।
अर्की एक महिला यात्रु जहाज चिप्लिँदा आत्तिएकी थिइन्। तीनै जनालाई आकस्मिक कक्षमा राखिए पनि अवस्था सामान्य भएकाले डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६