घरेलु टोली इंग्ल्यान्ड एकदिवसिय विश्वकप २०१९ को फाइनलमा प्रवेश गरेको छ । विहीबार भएको दोस्रो सेमिफाइनल खेलमा साविक विजेता अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै इंग्ल्यान्ड विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।
इंग्ल्यान्डले उपाधिको लागि आईतबार न्युजिल्यान्डसँगप्रतिस्पर्धा गर्नेछ । न्युजिल्यान्डले पहिलो सेमिफाइनल खेलमा भारतलाई स्तब्ध पार्दै फाइनलमा स्थान पक्का गरेको थियो ।
अष्ट्रेलियाले प्रस्तुत गरेको २ सय २४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले ३३ औं ओभरमा २ विकेटको क्षतिमा पुरा गर्यो । इंग्ल्यान्डको लागि ओपनर जोसन रोयले सर्वाधिक ८५ रनको योगदान दिए । प्याट कमिन्सले २० ओभरको चौथो बलमा कट बिहाइन्ड निकाल्दै विकेटकीपर एलेक्स केरीबाट क्याच आउट गराउनु अघि रोयले ६५ बलमा ९ चौका र ५ छक्का प्रहार गरे ।
रोयले पहिलो विकेटका लागि जोनी बेयरस्टोसँग १७.२ ओभरमा १ सय २४ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । मिचेल स्टार्कले एलबीडब्लू आउट गर्नुअघि बेयरस्टोले ४३ बलमा ५ चौका सहित ३४ रन जोडे ।
जो रुट ४६ बलमा ८ चौका सहित ४९ रनमा अविजित रहे । त्यस्तै कप्तान इओन मोर्गन पनि ३८ बलमा ८ चौकासहित ४५ रनमा नट आउट रहँदै फाइनलमा स्थान पक्का गरे । अष्ट्रेलियाका लागि मिचेल स्टार्क र प्याट कमिन्सको नाममा समान १ विकेट रह्यो ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको अष्ट्रेलिया ४९ ओभरमा अल आउट हुँदै २ सय २३ रनमा समेटियो । अष्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ८५ रनको योगदान दिए ।
प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६