काठमाडौं : नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारी टोल बस्ने आफ्नै ३६ वर्षीया श्रीमती लिला कुमारी लोदलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा ४३ वर्षीय श्रीमान शिव कुमार लोदलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।
शिव कुमारले धारिलो हतियार प्रहार गर्दा लिला कुमारी घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि नर्सिङहोम नेपालगंजमा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
साथै घटनामा शंकास्पद सोही ठाउँ बस्ने ३८ वर्षीय नरेश साहु तेलीलाई समेत नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, असार २६, २०७६