आफ्नो घर नभएर अर्काको शरणमा बस्दै आएका छेडागाड नगरपालिका–१३ का प्रसाद बादी अहिले घर निर्माणपछि आफ्नै घरमा बस्न थाल्नुभएको छ । आफ्नो घर नहुँदा अर्काको घरमा हलिया भएर बस्दा सधैँ हेलाको पात्र हुनुपरेको र शरीर ढिलो, थिलो हुनेगरी कामसमेत गर्नुपरेको बताए।
बुद्धे नेपालीलाई पनि घर र जग्गा नहुँदा दैनिक पीडा पोख्नुपरेको थियो । अहिले सरकारको उपलब्ध गराएको रु पाँच लाख २५ हजारले घर तथा जग्गा किनेर ढुक्कसँग बस्न पाएको बुद्धेले बताए । उहाँहरू जस्तै जाजरकोटका ४०० हलियाले घर निर्माण गरी आनन्दसँग बस्न पाएको बताएका छन् ।
प्रतिपरिवारलाई रु दुई लाख जग्गा किन्न र रु तीन लाख २५ हजार घर निर्माणका लागि रकम उपलब्ध गराइएको थियो । अर्काको हलिया बसेर दैनिक जिन्दगी गुजार्दै आएका हलिया आफ्नै घरमा बसेर आफ्नै खेतबारीमा किसानी गर्न थालेपछि अहिले परिवार नै खुशी भएको बुद्धेले बताए । पुनःस्थापना भएर आफ्नै दाजुभाइसँग बस्न पाउँदा जेलबाट मुक्त भएझैँ लागेको अर्का कालीबहादुर टमाटाले बताए।
जिल्लाका सात स्थानीय तहमा रहेका र अर्काको घरमा काम गर्न बाध्य भएका हलिया अहिले पुनःस्थापना भएपछि किनै खुशी भएका छन् । जिल्लाका सबै ठाउँमा निर्माण भएका घर अनुगमन गर्दा राम्रो भेटिएको र सबै परिवार खुशी भएर बसेको पाइएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । अर्को जिन्दगीको शुरुआत भएको प्रतिक्रिया दिएको प्रजिअ बस्नेतले बताए ।
प्रकाशित मिति: बिहीबार, असार २६, २०७६