काठमाडौं महानगरपालिकाले सुरु गरेको ‘स्मार्ट पाकिङ’ को शुल्क निजीको भन्दा महँगो भएको गुनासो उपभोक्ताले गरेका छन् ।
निजी कम्पनीसँगको साझेदारीमा महानगरपालिकाले ३२ जेठदेखि काठमाडौंका दरबार मार्ग, विशालबजार, न्युरोड, खिचापोखरी, पाको र धर्मपथ क्षेत्रमा स्मार्ट पार्किङ सुरु गरेको हो । महानरपालिकाले निजी कम्पनी ह्विल ट्र्युली योर्स र एड ग्रुपको साझेदारीमा स्मार्ट पार्किङ सुरु गरेको हो । यो समाचार टेकराज थामीले लेखेका हुन् ।
कम्पनीले उपभोक्तासँग दुईपांग्रे सवारीसाधनको प्रतिघन्टा २५ रुपैयाँ र चारपांग्रे सवारीसाधनको प्रतिघन्टा ८० रुपैयाँ लिँदै आएको छ । तर, निजी कम्पनीले दुईपांग्रेको प्रतिघन्टा २० र चारपांग्रेको प्रतिघन्टा ५० देखि ६० रुपैयाँ मात्रै शुल्क लिन्छन् । महानगरसँगको सम्झौताअनुसार कम्पनीले पाँच वर्षसम्म सोही दरमा शुल्क उठाउन पाउनेछ ।
उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले स्मार्ट पार्किङका नाममा स्थानीय सरकारबाटै लुट मच्चाइनु शोभनीय नभएको बताए । उनले भने, ‘निजी कम्पनीसँगको साझेदारीमा काठमाडौंका केही सहरमा स्मार्ट पार्किङ सुरु भएको पाइयो । प्रविधिमैत्री बन्ने काम राम्रै होला । तर, निजी कम्पनीले यसैका नाममा उपभोक्ताबाट महँगो शुल्क असुल्ने गरेको पाइएको छ । यसरी उपभोक्ता लुट्न पाइँदैन ।’ आजको नयाँ पत्रिकामा समाचार छ ।
प्रकाशित मिति: बिहीबार, असार २६, २०७६