विपी राजमार्गको खुर्कोट नेपालथोक खण्डको चयनपुरमा बुधबार बिहान कार र माइक्रोबस ठोक्किँदा १० जना घाइते भएका छन् ।
सुनकोशी गाउँपालिका–६ चयनपुरमा काठमाडौंबाट सिन्धुलीतर्फ आउँदै गरेको बा५ख २२९८ नम्बरको माइक्रोबस र बा१४च ८५१८ नम्बरको कार ठोक्किएको हो ।
सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज ६७९० नम्बरको सुमोलाई सोही दिशाबाट काठमाडौं जादै गरेको कारले ओभरटेक गर्दा काठमाडौँबाट सिन्धुलीको खुर्कोटतर्फ आउँदै गरेको माइक्रोबससँग ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनायो ।
इलाका प्रहरी कार्यालय खुर्कोटका इन्स्पेक्टर वीरेन्द्र घिमिरेलेका अनुसार घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । उनका अनुसार दुर्घटनामा माइक्रोमा सवार ९ जना यात्रु र कारका चालक घाइते भएको प्रहरीले जनाएको छ । घाइते सबैको सुनकोशी ६ खाल्टेमा रहेको आत्मीय सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, असार २५, २०७६