भोजपुर जिल्ला प्रहरी कार्यालयबाट अस्पताल तर्फ गस्तीमा भएका प्रहरीमाथि विप्लव समुहका कार्यकर्ताले आक्रमण गर्दा एक प्रहरी र विप्लव समूहका एक कार्यकर्ताको मृत्यु भएको छ ।
मृत्यु हुनेमा घुमुवाका रूपमा सक्रिय प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका कार्यकर्ता नीरकुमार राई रहेका भोजपुरका प्रमुख जिल्ला अघिकारी नुरहरि खतिवडाले जानकारी गराए । सदरमुकामको हटिया लाइनमा भिडन्त हुँदा प्रहरी जवान राई र एक विप्लव समूहका कार्यकर्ता राईको मृत्यु भएको हो ।
बुधबार विहान ९ बजेतिर भोजपुर सदरमुकामस्थित शनिबारे हटियामा रहेको पान्धारे होटल नजिकै विप्लव कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी जवान राईलाई गोली हानेका हुन् । जवाफी कारबाहीमा विप्लव समूहका कार्यकर्तालाई पनि गोली लागेको थियो ।
अर्का प्रहरी जवान सामनाथ भट्टराई घाईते भएका छन् । प्रहरीले विप्लव समूहका निरकुमार राईको साथबाट एक थान चाईनिज पेस्तोल र ६ राउण्ड गोली बरामद गरेको छ ।
प्रकाशित मिति: बुधबार, असार २५, २०७६