अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोल्ड मेडलका लागि परीक्षा परिणाम फेरबदल गर्ने तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ।
परीक्षाको प्राप्तांक फेरबदल गरेको अभियोगमा त्रिवि परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखामा कार्यरत शाखा अधिकृत रामबहादुर कर्माचार्य, भक्तपुर बहुमुखी क्याम्पस दूधपाटीका शिक्षक सुरेन्द्रप्रसाद कोइराला र केदार भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ।
अख्तियारले छानबिनमा गर्दा भक्तपुर बहुमुखी क्याम्पस दूधपाटी भक्तपुरमा शिक्षण सहायक (आंशिक) पदमा कार्यरत शिक्षक सुरेन्द्रप्रसाद कोइरालाले परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखामा कार्यरत रामबहादुर कर्माचार्यलाई १ लाख ५० हजार रुपैयाँ घुस दिई नम्बर थप्न लगाएको पाइएको छ। परीक्षा परिणाम फेरबदल गरेर गोल्ड मेडल किनबेच हुने उजुरी अख्तियारमा परेपछि कागजपत्र नियन्त्रणमा लिएर छानबिन थालेको थियो।
कोइराला र पनिका बल्खुको गोप्य शाखाका प्रमुख रामबहादुर कर्माचार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेर अनुसन्धान गरेको थियो। धेरैजसो विषयमा उनी फेल भएको र सबैमा नम्बर थपेर उनलाई गोल्ड मेडलिस्ट बनाइएको अनुसन्धानमा खुलेको छ। अख्तियारको अनुसन्धानमा उनीहरूबीच आर्थिक लेनदेनको समेत प्रमाण भेटिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । छानबिन पूरा भएपछि उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको प्र्रवक्ता कोइरालाले जानकारी दिए। आजको राजधानी दैनिकमा समाचार छ ।
प्रकाशित मिति: मंगलबार, असार २४, २०७६