सर्लाहीका कुमार पौडेलको मृत्यु प्रहरीसँगको दोहोरो मुठभेठमै भएको निष्कर्ष गृह मन्त्रालयले निकालेको छ ।
गृहले गठन गरेको छानबिन समितिले घटनामा प्रहरीको कुनै गल्ती नभएको रिपोर्ट बुझाएको छ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको निर्देशनपछि गृह मन्त्रालयले उपसचिव दीपक नेपालको अध्यक्षतामा छानबिन समिति गठन गरेको थियो ।
समितिले आइतबार गृहसचिव प्रेमकुमार राईलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदन आइतबार नै राज्य व्यवस्था समितिमा समेत पठाइएको छ ।
‘पौडेल सधैँ पेस्तोल बोकेर हिँड्थे’
गत ५ असारमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज पौडेलको प्रहरी गोलीबाट मृत्यु भएको थियो । सर्लाहीको लालबन्दी नगरपालिका–१ लखन्देही खोलामा उनीमाथि गोली प्रहार भएको थियो ।
पक्राउ गरेर उनलाई गोली हानिएको आशंका सत्तारुढ दलकै सांसदहरूले समेत छानबिनको माग गरेका थिए । संसद्को राज्य व्यवस्था समितिले छानबिन गर्न निर्देशन दिएपछि गृहले उपसचिव नेपालको नेतृत्वमा चार सदस्यीय छानबिन समिति बनाएको थियो ।
जसमा सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका डिएसपी र गृहकै कानुन अधिकृत सदस्य थिए । समितिले घटनास्थलमै पुगेर रिपोर्ट बनाएको हो । आजको नयाँ पत्रिकामा समाचार छ ।
प्रकाशित मिति: सोमबार, असार २३, २०७६