कांग्रेस नेताहरूले संशोधित विधानअनुसारका पार्टी संरचना भदौ तेस्रो सातासम्म गठन गरेर १४औँ महाधिवेशनमा होमिने सहमति गरेका छन् ।
आइतबार दिउँसो शीर्ष नेता तहमा भएको सहमतिलाई साँझ बसेको केन्द्रीय समिति बैठकमा पेस गरिएको छ । निर्वाचनबाटै बुथदेखि प्रदेश समिति गठन गर्ने सहमति पनि शीर्ष तहमा भएको छ । यसअघि पार्टी संरचना गठन गर्न तदर्थ समिति बनाउने विषय उठेको थियो ।
आगामी २४ भदौबाट सुरु हुने दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअघि कम्तीमा पनि बुथ तहदेखि ६ हजार सात सय ४३ वडा, सात सय ५३ पालिका समिति र तीन सय ३० प्रदेश समितिसम्म गठन हुन सक्ने महामन्त्री पूर्णबहादुर खड्काले बताए ।
‘संशोधित विधानअनुसार निर्वाचनमार्फत अन्तरिम संरचना गठन हुन्छ । निर्वाचन समितिसँगको छलफलपछि हामी २४ भदौको जागरण अभियानअघि बुथ, वडा र प्रदेश समितिसम्म गठन गर्ने गरी अघि बढ्छौँ,’ खड्काले भने, ‘त्यसपछि क्रियाशील सदस्यता वितरण गरेर १४औँ महाधिवेशनको कार्यतालिका बनाउँछौँ ।’ आजको नयाँ पत्रिकामा समाचार छ ।
प्रकाशित मिति: सोमबार, असार २३, २०७६