ब्राजिलले कोपा अमेरिका २०१९ को उपाधि जितेको छ । आइतबार भएको फाइनलमा पेरुलाई ३-१ ले पराजित गर्दै ब्राजिल च्याम्पियन बनेको हो ।
खेलको १५ औं मिनेटमा एभरटन सोआरेसको गोलमा ब्राजिलले अग्रता लिएको थियो । फरवार्ड ग्यब्रीएल जेससले दिएको पासमा एभरटनले भली प्रहार गर्दै गोल गरेका थिए । खेलको ४४ औं मिनेटमा पाओलो गुरेरोले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । तर त्यसको एक मिनेटमा नै जेससले आर्थरको पासमा गोल गरे ।
दोस्रो हाफको ७० औं मिनेटमा जेसस दोहोरो पहेंलो कार्ड खाँदै बाहिरीएपछि ब्राजिल १० खेलाडीमा सिमित भएको थियो । रिचारलीसनले अन्तिम समयमा पेनाल्टीमा गोल गर्दै ब्राजिलको जित पक्का गरे ।
ब्राजिलको यो समग्रमा नवौं कोपा अमेरिका उपाधि हो ।
प्रकाशित मिति: सोमबार, असार २३, २०७६