नयाँ बसपार्कको दक्षिणपट्टि राजकुमारी तामाङले साना पाँच रूपैयाँ प्रतिगोटा र ठूला १० रूपैयाँमा फिक्का हरियो रङको मास्क बेच्दै गर्दा शुक्रबार प्रधानमन्त्रीले नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा भन्दै थिए, ‘मास्क लगाउने बानी गर्दा राम्रै हुन्छ । मेरो रिसले भए पनि कृपया मास्क लगाइदिनुहोला । तर यसले बाटो सफा गर्ने हाम्रो काम रोकिँदैन ।’ प्रधानमन्त्रीको मास्क सम्बन्धी भनाइले दुई पटक चर्चा पाएको छ । एकहप्ता अघि आधा मानिसले मास्क लगाएको तर हटेको छ भनेरको केहिदिन मै मास्क लगाउनु सरकारको विरोध हो भन्दै आफ्नो अभिव्यक्तिको बचाउ गरेका हुन् ।
हातमा एउटा प्लास्टिकमा राखेर फुटपाथमा बिक्री गर्दै गरेकी तामाङको कानसम्म यो कुरा पुग्यो कि पुगेन । तर उनले उभिएर बेच्दै आएको मास्क भने दैनिक ८० देखि एक सय २० को हाराहारीमा बिक्री हुने गरेको बताइन् ।
उनी जस्तै चाबहिल चोकमा हिमला मगरले पनि दैनिक ६०/७० वटाको हाराहारीमा मास्क बेच्ने गर्छिन् । उनीहरूका अनुसार जहाँ बढी धुलो उड्छ, त्यहाँ बढी नै बिक्री हुँदै आएको छ । मास्क फुटपाथमा मात्र नभएर पसलहरूबाट पनि त्यत्तिकै मात्रामा बिक्री हुन्छ भने दीर्घरूपमा प्रयोग हुने मास्क पनि धेरैसँग छ ।
अझ नेपाल ट्राफिक प्रहरीले त अनिवार्य मास्क लगाएर नै आफ्नो कर्तव्य पालना गरिरहेका छन् । त्यसो त ट्राफिक प्रहरीका सेवकहरू सबै प्रतिपक्षका हुन् ? शनिबारको दिन नयाँ बानेश्वर, माइतीघर, त्रिपुरेश्वर हुँदै सुन्धारा, रत्नपार्क, अनामनगर, महादेवस्थान हुँदै पंक्तिकार पुनः नयाँ बानेश्वर फकिंदा मास्क नलगाएका ट्राफिक प्रहरी नै भेट्न सकिएन ।
यसरी हेर्दा फुटपाथमा मास्क बेच्न बसेकाहरूले ठूलो व्यवसाय गर्न सक्ने भए किन बाटोमा मास्क लगाएर मास्क बेच्थे होला ? अथवा ट्राफिक प्रहरीहरू किन मास्क लगाएर चोकमा ट्राफिक कन्ट्रोल गरिरहन्थे होला ? प्रधानमन्त्रीको भनाइमा सत्यता भएको भए वा महानगर साँच्चै सफा भए त फुटपाथमा मास्क बेचेरै जीविका चलाउनेहरूको रोजीरोटी गुमिसक्थ्यो । तर उनीहरूले मास्क बेचेरै जीविका चलाउन पाएका छन् ।
प्रधानमन्त्रीले उपत्यका सफा र सुन्दर छ भन्दै गर्दा महानगरपालिकाले राखेको वातावरणमा रहेको धुलो मापन गर्ने मेसिनको चर्चा गर्न आवश्यक छ । अगाडिको बाँया भागमा प्रदूषण मेसिनले वातावरणमा भएको फोहोरको मात्रा देखाइरहेको छ । स्मार्ट डस्टबिनको दाँयापट्टि तापक्रम मापन गर्ने डिजिटल मेसिन छ । यसैको फोहोर जम्मा गर्नेपट्टि चाहिँ माथिल्लो भागमा हाम्रो सफा काठमाडौं भनेर लेखिएको बोर्ड छ ।
त्यसैको तल फोहोर मलाई भनेर सर्वसाधारणले फोहोर फाल्न सहजताका लागि दुई कोठे फोहोर फाल्ने भाँडो खुला नै हुन्छ । फोहोर फाल्ने खुला रहेको भाँडोको छेवैमा मोबाइल चार्ज गर्ने ठाउँ छ ।
हावामा रहेको फोहोरको मात्रा नेपालको सन्दर्भमा प्रतिसेकेन्ड ४० माइक्रोग्राम प्रतिघनमिटरलाई सामान्य मानिने वातारणविद्हरू बताउँछन् । तर काठमाडौंमा दैनिक एक सय ३० देखि एक सय ८० माइक्रोग्राम प्रतिघनमिटरसम्म यही स्मार्ट डस्टविनले धुलोको मात्रा मापन गरिरहेको छ ।
साँच्चै भन्ने हो भने उपत्यकामा सास फेर्नका लागि उपयुक्त वातावरण छैन भन्दा फरक पर्दैन । किनकि पंक्तिकारको आँखा प्रायः भेटेको र देखिएका जति वातावरण मापन गर्ने स्मार्ट डस्टबिनमा आँखा जान्छ । तर ४० माइक्रोग्राम प्रतिघनमिटर त अत्यन्त न्यून समयमा मात्र देखिन्छ ।
यसरी हेर्दा न त हावामा प्रतिसेकेन्ड ४० माइक्रोग्राम प्रतिघनमिटरभन्दा कम धुलोको मात्रा छ, न त हामीले सरकारको विरोध नगरी बस्नै सक्छौं । त्यसैले प्रधानमन्त्रीको भनाइ सत्य सवित हुने दिनको पर्खाइमा बस्ने नै छौं । शुभकामना छ यस्तो सफा र सुन्दर महानगर पनि छिट्टै बनोस् ।
प्रकाशित मिति: आइतबार, असार २२, २०७६