महोत्तरीमा घर बनाउँदा बनाउँदै लडेर एक मजदुरको मृत्यु भएको छ।
मृत्यु हुनेमा गौशाला नगरपालिका-१० का ४५ वर्षीय टेकबहादुर मगर छन्। महोत्तरीकै सोनमा गाउँपालिका २ स्थित नागेश्वर यादवको काठको दुई तल्ले घर निर्माण गर्ने क्रममा मदिरा सेवन गरेका मगरको लडेर मृत्यु भएको स्थानीयले जनाएका छन्।
तर मगरको शरीरमा खासै चोटपटक भने देखिएको छैन। जसका कारण घटना रहस्यमयी देखिन्छ। यता, प्रहरी चौकी रघुनाथपुरका इन्चार्ज गौरीशंकर साहले घटना विषयमा अनुसन्धान भइरहेको र पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र रहस्य खुल्ने जानकारी दिए। उनका अनुसार मृतक मगरको शव पोष्ट मार्टमका लागि जनकपुर अंचल अस्पताल लगिएको छ।
प्रकाशित मिति: आइतबार, असार २२, २०७६