काठमाडौं : बझाङको खप्तडछान्ना गाउँपालिका ६ पाटादेवलमा सडक खन्न प्रयोग गरेको डोजर फिर्ता भएको छ। विभिन्न मिडियाहरुमा यसबारे समाचार प्रकाशन/प्रसारण र सामाजिक सञ्जालमा विरोध भएपछि डोजर फिर्ता भएको जनाइएको छ ।
कृषकहरुले दुखकष्ट गरेर रोपेको खेतमाथि कुदेको डोेजरले असारे विकासलाई निरन्तरता दिएको भन्दै चोतर्फी विरोध भएपछि डोजर फिर्ता भएको हो । डोेजरले किसानको खेत मात्र हैन, तीन वटा खानेपानी आयोजना र कुलो पनि भत्काएको जनाएको छ ।
यसबारे समाचार आएपछि स्थानीय प्रशासनले सडक खन्ने काम रोक्न निर्देशन दिएको हो। अहिले खेत कोतर्न रोकिएको छ। जिल्ला प्रशासन कार्यालय बझाङले सडक निर्माण उपभोक्ता समिति अध्यक्ष सुरेन्द्रबहादुर सिंहलाई सदरमुकाम बोलाएर डोजर फिर्ता गर्न निर्देशन दिएको जनाइएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको योजना अन्तर्गत यो सडको खनिएको थियो। सडक खन्न सुरू गरे पनि पूरा गर्न नपाएको लम्तडा–कालुखेती–थामलेक सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सिंहले बताए ।
अध्यक्ष सिंहले रोपाइँमा डोजर चलाउनु कमजोरी भएको बताउँदै अहिलेको घटनाले गाउँलेहरूको सहमतिमा विकासका काम गर्ने पाठ सिकेको बताए। उनले भने, गाउँलेलाई हानी नपुग्ने गरी विकासका काम गर्नुपर्ने रहेछ ।
प्रकाशित मिति: आइतबार, असार २२, २०७६