–नवीन रायमाझी/अमेरिका
अमेरिकी अध्यागमन नीतिले आप्रवासीमा पार्ने प्रभावका बारेमा बृहत अन्तरक्रिया हुने भएको छ । अमेरिका नेपाल नीति अनुसन्धान केन्द्रको अयोजनामा हुन लागेको अन्तरक्रियामा अमेरिकी अध्यागमन नीतिले आप्रवासीमा पार्ने प्रभावका बारेमा सम्बन्धित देशका विज्ञहरुले नागरिकको जिज्ञासाको समाधान दिनेछन । राष्ट्रपति डोनाल्ड ट्रम्पको आगमन पछि घोषणा गरिएको आप्रवासन नीतिपछि अमेरिकामा वसोबास गर्ने विश्वका अन्य देशका आप्रवासीसँगै नेपाली आप्रवासीहरुलाई समेत असर गर्ने चर्चा हुँदै आएको छ । नीति कार्यान्वयनको पहिलो कदम स्वरुप विश्वका केही मुलुकहरुका नागरिकको अमेरिका प्रवेश तथा ती देशका आप्रवासीहरुलाई अमेरिकी सरकारले कडा निगरानी सुरु गरेपछि समग्र आप्रवासीहरुमा खैला बैला मच्चिएको थियो ।
आप्रवासीहरुप्रति कठोर योजनाकासाथ अघि बढेका ट्रम्पको राष्ट्रपतिमा आगमनसँगै अन्य देशका आप्रवासीसँगै नेपाली आप्रवासीहरुलाई समेत गम्भीर प्रभाव पर्ने अनुमान गरिएको छ । यद्यपी नीतिले नेपाली आप्रवासीहरुमा कुनै असर परेको छैन । यहि आप्रवासन नीति र यसले नेपाली समुदायलाई के प्रभाव पार्न सक्छ भन्ने सन्दर्भमा व्यापक छलफल भई प्रष्ट हुने मौका आइतवारको छलफलले दिनेछ । नेपाली समय अनुसार आइतबार राति ९ः१५ बजेबाट आरम्भ हुने छलफलमा नेपाली समुदायका तर्फबाट ३ जना महत्वपूर्ण व्यक्तिहरुले सहभागिता जनाउनेछन ।
आप्रवासन कानुनका विज्ञहरु खगेन्द्र जीसी र विनोद रोकाका साथै समाजशास्त्रका प्राध्यापक राजन पन्तले यस छलफलमा सहभागिता जनाउनेछन । अमेरिकामा रहेका नेपालीसहित नेपालमै बस्ने नेपालीले समेत अमेरिकी आप्रवासन नीति र यसबाट नेपाली समुदायलाई पर्ने प्रभावका बारेमा सिधा टेलिफोन मार्फत जानकारी प्राप्त गर्न सक्नेछन । जसका लागि अमेरिकामा बस्ने नेपालीहरुले ०१६०५४७५५९५० डायल गरि कोड ४१६२०१७ मार्फत प्रश्न गर्न सक्नेछन भने नेपालमै रहने नेपालीहरुले ४१६२०१७ मार्फत जिज्ञासा राख्न सक्नेछन । नेपालीहरुका जिज्ञासाहरुको समाधान तीन जना विज्ञले दिनेछन ।
प्रकाशित मिति: शनिबार, वैशाख २, २०७४