काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अछाममा पनि तालाबन्दी गरेको छ । असार २२ गते बन्दको आह्वान गरिएको आधिकारीक घोषणा नहुँदा अलमलमा परेका बेला विप्लवले भने सुदूरपश्चमका जिल्लाहरुमा तालाबन्दी गरेको हो ।
पार्टीको सेती महाकाली ब्यूरोका नाममा स्थानीय तहका १२ वटा वडा कार्यालयमा तालाबन्दी गरिएको छ । वडाहरुमा तालाबन्दी गरिएको हो । जिल्लाको मंगलसैन नगरपालिकाको वडा नम्बर १ कुन्तीमा कार्यालयको ताला भाँचेर फालेर अर्काे ताला लगाइएको वडाध्यक्ष गोपाल थापाले बताएका छन् ।
त्यस्तै वडा नम्बर १३ बस्ती, ढकारी गाउँपालिकाको वडा नम्बर २ हिच्मा, तुर्माखाद गाउँपालिकाको वडा नम्बर २ भुलु र ७ तोषि, पञ्चदेवल बिनायक नगरपालिकाको कालेकाँडा, बाराला, लयाँटी र पुल्लेतोला तथा रामारोशन गाउँपालिकाको वडा नम्बर ४ बाटुलसैन र ६ भटाकाटियाका वडा कार्यालयमा तालाबन्दी गरिएको जनाइएको छ ।
रामारोशन गाउँपालिकाको वडा नम्बर ३ शान्तडाका अध्यक्ष ताराबहादुर साउदले कार्यकक्षाकोे भवनमा ताला लगाइएको र ‘दलाल पूँजीवादी सरकारका विरुद्ध लगाइएको ताला खोलिएमा सम्बन्धित ब्याक्ति नै जिम्मावर हुनेछ’ भनेर धम्किपूर्ण रुपमा लेखिएको सन्देशसमेत भेटिएको बताएका छन् ।
उता कैलालीका प्रायजसो वडा कार्यालयमा तालाबन्दी गरिएको छ । धनगढी उप–महानगरपालिका क्षेत्रका १४ वटा वडा कार्यालयमा तालाबन्दी गरिएको विप्लव समूहका एक नेताले बताए । तालाबन्दी गर्दै वडा कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी सेती–महाकाली ब्यूरोको पर्चा समेत राखिएको छ ।
प्रकाशित मिति: आइतबार, असार २२, २०७६