क्यान्सर निको हुन्छ भन्दै कोही जमराको जुस पिउँछन् त कोही गोमूत्र वा स्वमूत्र सेवन गर्छन्। कसैले गुलियो खान नहुने भन्दै मुख बार्न थाल्छन्।
तर, समयमै सतर्कता नअपनाउँदा क्यान्सर उपचारमा ढिलाइ हुने भारत र नेपालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ बताउँछन्। वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. पुर्वेस परिख भन्छन्, ‘गोमूत्र होस् स्वमूत्र, यो सेवन गर्दैमा क्यान्सर निको हुँदैन।’
प्राकृतिक वा वैकल्पिक चिकित्साभन्दा क्यान्सर निको पार्न आधुनिक चिकित्सा (एलोपेथी) नै प्रभावकारी हुने विशेषज्ञ बताउँछन्। ‘क्यान्सरको उपचार छाडेर योग तथा मेडिटेसन गर्दा हानिकारक हुन्छ। उपचार क्रममा बिरामीमा चिन्ता, तनाव भए योग गर्न सकिन्छ,’ डा. परिखले भने।
धूमपान सेवनका कारण क्यान्सर हुने पुष्टि भएपछि बिरामीले तलतल मेटाउन पान, गुट्खा सेवन गर्ने गरेको वरिष्ठ क्यान्सर एवं छातीरोग विशेषज्ञ डा. एम के पिया बताउँछन्। ‘चुरोट सेवन गर्न छाडेको भन्दै पान, गुट्खा सेवन गर्दा मुख, जिब्रो र घाँटीको क्यान्सर हुने जोखिम बढाउँछ,’ डा. पियाले भने।
रक्त रोग तथा बोनम्यारो प्रत्यारोपण विशेषज्ञ डा. विशेष पौडेल क्यान्सर बिरामीले जमराको जुस खाँदा संक्रमण (फंगल इन्फेक्सन ) भएको बताउँछन्। ‘केमोथेरापी (औषधि )लिइरहेका बिरामीले जमराको जुस खानु हुँदैन,’ डा. पौडेलले भने। आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति: शनिबार, असार २१, २०७६