एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा पाकिस्तानले बंगलादेशलाई ९४ रनले पराजित गरेको छ । यद्यपी जितका बाबजुद पाकिस्तान लिग चरणबाटै बाहिरिएको छ । न्युजिल्यान्ड र पाकिस्तानको समान ११ अंक भएपनि नेट रन रेटका आधारमा न्युजिल्यान्ड सेमिफाइनलमा पुगेको हो ।
३ सय १६ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश ४४.१ ओभरमा अल आउट हुँदै २ सय २१ रनमा रनमा समेटियो । बंगलादेशका लागि सकीब अल हसनले सर्वाधिक ६४ रनको योगदान दिन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । बंगलादेशका ओपनर तामिम इकवाल ८ र सौम्य सरकारलाई २२ रनमा गुमाएको थियो । मुश्फिकुर रहिम १६, लिटन दास ३२, महमुदूल्लाह २९ मोसाद्देक हसन १६ रनमा क्याच आउट भए ।
पाकिस्तानका युवा खेलाडी शाहिन शाह अफ्रिदीले उत्कृष्ट प्रर्दशन गर्दै ९.१ ओभरमा ३५ रन खर्चेर ६ विकेट लिए । सादव खान २, मोहम्मद आमिर र वहाब रियाजको नाममा समान १ विकेट रह्यो ।
त्यसअघि लर्डसमा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय १५ रन बनाएको थियो ।
पाकिस्तानका ओपनर इमामले उल हकले १ सय रनको योयदान दिए । ४२ ओभरको पाँचौ बलमा हिट विकेटका रुपमा आउट हुँदै पेभिलिन फर्किनु अघि उनले १ सय बलमा ७ चौका प्रहार गरे । त्यस अघि ३२ ओभरको अन्तिम बलमा मोहम्मद सैफुद्दीनले एलवी डब्लू आउट गर्दै बाबर आजमलाई ९८ बलमा ११ चौका सहित ९६ रनमा पेभिलिएन फर्काए । दोस्रो विकेटका लागि बाबर र इमामले १ सय ५७ रनको उत्कृष्ट शतकीय साझेदारी गरे ।
सैफुद्दीनलेनै ओपनर फकार जमानलाई ८ औं ओभरको दोस्रो बलमा मेहदी हसन मिराजबाट १३ रनमा क्याच आउट गराए । मोहम्मद हफिज २७, हरिस सोहेल ६, कप्तान शरफराज ३, अहमद, वहाब रियाज २, सादव खान १ रनमा आउट भए । इमाद वासिमले २६ बलमा ६ चौका र १ छक्का ४३ रनमा क्याच आउट भए ।
बंगलादेशका लागि मुस्ताफिजुर रहमानले १० ओभरमा ७५ रन खर्चेर ५ विकेट लिए । मोहम्मद सैफुद्दीन ३ र मेहदी हसनको नाममा १ विकेट रह्यो ।
पाकिस्तान ९ खेलमा ५ मा जित र ३ मा हारका साथ ११ अंक जोड्दै पाँचौ स्थानमा रहेर यस विश्वकप समाप्त गर्यो । त्यस्तै बंगलादेशले ९ खेलमा ३ मा जित र ५ मा हारका साथ सातौं स्थानमा रहेर विश्वकप समाप्त गर्यो ।
अष्ट्रलिया,भारत,इंग्ल्यान्ड र न्युजिल्यान्ड सेमिफाइनमा पुगेका छन् । भारत र अष्टे«लियाले एक एक खेल खेल्न बाँकी छ । यी दुई देशको नतिजाले विश्वकपको सेमिफाइनल समिकरण मिल्ने छ ।
प्रकाशित मिति: शनिबार, असार २१, २०७६