आफनै आमाको खुकुरी प्रहार गरी विभत्स हत्या गरेको आरोपमा पक्राउ परेका सप्तरीको सुरुड्डा नगरपालिका १ चहका टोलका ३३ बर्षीय जंगबहादुर पुलामीलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार अघिल्लो दिन बिहिबार साँझ उनले ६४ बर्षीय आमा धनमायाको टाउको, घाटी र अनुहारमा खुकुरी प्रहार गरी निर्मम ढंगले हत्या गरेका थिए । प्रहरीले जंगबहादुरलाई घरबाटै पक्राउ गरेको हो ।
आमाको हत्या गर्न उनले प्रयोग गरेको रगत लतपतिएको २ थान खुकुरी पनि प्रहरीले घटना स्थलबाटै बरामद गरेको छ । उनले प्रारम्भिक बयानमै रिसले बहुला भएर हत्या गरेको स्वीकारेका छन् ।
आमालाई खुकुरीले आक्रमण गर्ने क्रममा अनियन्त्रित भएका उनलाई पनि आफैले बोकेको खुकुरीबाट टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका डिएसपी भावेश रिमालले जानकारी दिए ।
अत्यधिक मदिरा सेवन गरी घर पुगेका छोरालाई सम्झाउने क्रममा एक्कासि आवेसमा आएका जंगबहादुरले घरमै राखिएको खुकुरीले अन्धाधुन्द प्रहार गरेको अनुसन्धानको क्रममा खुलेको डिएसपी रिमालले बताए ।
घटनास्थलमै मृत्यु भएका धनमायाको शव आवश्यक प्रकृया पुरा गरी पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमा प्रसाद स्मारक अस्पतालमा पुयाइएको तथा शुक्रबार पोष्टमार्टम कार्य सकिएको उनले बताए ।
प्रहरीका अनुसार घटनाका दिन बिहान पनि जंगबहादुरले मदिरा सेवन गरेका थिए । उनले घरमा पालिएको दुई वटा कुखुरामध्ये एउटा कुखुरा काटेर खान पकाउन बिहानै आमालाई भनेका थिए । छोराको आग्रहलाई पुरा गर्दै आमा धनमायाले तत्कालै कुखुरा काटेर खाना पनि पकाइदिइन । त्यही खाना खाएर फेरी रक्सी खान बाहिर निस्केका जंगबहादुर घर फर्केपछि आमाले सम्झाउँदा एक्कासि रिस र आवेसमा आएर अन्धाधुन्द खुकुरी प्रहार गरी आमाको हत्या गरे ।
घटनाका बेला धनमायाका पति लोकबहादुर रिचार्ज कार्ड लिन बजारतर्फ गएका थिए । धनमायाले बोक्ने मोबाईलमा पैसा सकिएपछि बजार गई रिचार्ज कार्ड किनेर घर फर्केका लोकबहादुर पत्नीलाई मृत अवस्थामा तथा छोराको दुवै हातमा रगतले लतपतिएको खुकुरी देखेर त्रसित भई ज्यान जोगाउन भागेका थिए ।
छर छिमेकसँगै प्रहरीलाई पनि जानकारी गराएपछि पुगेको प्रहरी टोलीले घेरा हालेर उनलाई नियन्त्रणमा लिएको थियो । डिएसपी रिमालले यो अपत्यारिलो अपराधको घटना पत्याउनै पर्ने सत्य बनेको भन्दै लागूऔषध र मदिरा विरुद्घ प्रहरीले चलाएको जनचेतना अभियानमा सवैले सहयोग गर्नुपर्नेमा जोड पनि दिए ।
पक्राउ परेका जंगबहादुरलाई शुक्रबारै सप्तरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुदामा म्याद थप गरी थप अनुसन्धान भईरहेको उनले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, असार २०, २०७६