मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न क्रिकेट प्रतियोगितामा नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ। समूहको दोस्रो तथा अन्तिम खेलमा नेपालले शुक्रबार सिंगापुरलाई २ सय १७ रनले हरायो। दुई खेलमध्ये एउटामा जित हात पारेको सिंगापुर पनि उपविजेता बनेर अन्तिम चार पुग्यो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर चार विकेट गुमाएर ३ सय २६ रन बनाएको थियो। नेपालका रित गौतमले शतक बनाए । यस्तै खड्ग बोहोराले ९०, कुशल मल्लले ५१ र पवन सरार्फले ४५ रन जोडे।
विशाल लक्ष्य पछ्याएको सिंगापुरले ३९.२ ओभरमा १ सय ९ रनमा अलआउट भयो।
सिंगापुरका लागि हरी कुकरेजाले सर्वाधिक ३० रन बनाए। यस्तै कन्नुस्वामी सतिशले २४ र चन्द्रमाउली श्रीदेबले २३ रन जोडेपनि अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।
सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि कुशल मल्लले ४ विकेट लिए। यस्तै तिलकराज भण्डारीले दुई तथा रसिद खानले १ विकेट हात पारे। नेपालले पहिलो खेलमा चिनलाई हराएको थियो।
प्रकाशित मिति: शुक्रबार, असार २०, २०७६