देशभर विपद्को घटनाबाट मानिसको मृत्यु हुने र ठूलो संख्यामा धनजनको क्षति हुने क्रम बढ्दो छ । सरकारले विपद् व्यवस्थापनका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न नसक्दा विपद्मा परी मानिसहरुको ज्यान जाने क्रम बढेको हो ।
यसपटक पनि मुलुकमा मनसुन सुरु भइसकेको छ । पछिल्लो पाँच वर्षमा मात्रै विपद्बाट १ हजार ६ सय ११ जनाको मृत्यु भएको गृह मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार विपद्का कारण औसत ६ सयको मृत्यु हुने गरेको छ ।
यो वर्ष पनि मनसुनको सुरुवातसँगै विपद्जन्य प्रकोपबाट मानिसको मृत्यु हुने क्रम सुरु भएको छ । पछिल्लो एक महिनाको तथ्यांक हेर्ने हो भने पनि विपद्का कारण ३२ जनाले ज्यान गुमाइसकेका छन् । एक महिनाको अवधिमा सबैभन्दा बढी चट्याङका कारण २१ जनाले ज्यान गुमाए भने हाइ अल्टिच्युटका कारण ४, जनावरको अक्रमणबाट ३, पहिरो र हावाहुरीबाट २–२ जनाले ज्यान गुमाएका छन् । पछिल्लो एक सातको अवधिमा मात्रै चट्याङबाट ६ जनाले ज्यान गुमाए भने भारी वर्षाका कारण एकजनाले ज्यान गुमाएको गृह मन्त्रालयले जनाएको छ ।
गृहका अनुसार विपद् व्यवस्थापनका नाममा पछिल्लो पाँच वर्षमा मात्रै सरकारी र गैरसकारी संस्थाले झन्डै २५ अर्ब बढी खर्च गरिसकेका छन् तर त्यसरी गरिएको खर्चको उपलब्धि भने निकै न्यून देखिएको गृहका अधिकारीकै स्वीकारोक्ति छ।
मनसुनको अवधिमा विशेषगरी पहिरो, बाढी, भारी वर्षा, चट्याङ, हाइ अल्टिच्युट र हावाहुरीका कारणले मानिसहरुको ज्यान जाने गरेको पाइएको छ।
विपद्को जोखिम व्यवस्थापनका लागि सरकारले ध्यान नदिँदा पाँच वर्षको अवधिमा विपद्बाट १ हजार ६ सय ११ जनाले ज्यान गुमाउन बाध्य भएका हुन्।
गृह मन्त्रालयका अनुसार पाँच वर्षको अवधिमा पहिरोमा परी ५ सय ४६ जनाले ज्यान गुमाएका थिए । बाढीका कारण ४ सय ३, भारी वर्षाका कारण ४६, चट्याङका कारण ४ सय ७९, हाइ अल्टिच्युटबाट ६९ र हावाहुरीका कारण ६८ जनाले ज्यान गुमाएका थिए । आजको राजधानी दैनिमा समाचार छ ।
प्रकाशित मिति: शुक्रबार, असार २०, २०७६