काठमाडौं : सडकमा पैदलयात्रु हिँड्नेहरूको लागि बनाइएको फुटपाथ बेलुका ५ बजेपछि फुटपाथ नभएर बजार स्पट हुँदा समस्या भएको छ । फुटपाथ सडकपेटीमा हिँड्ने यात्रुहरूको सहजताका लागि निर्माण गरिएको हो । तर राजधानीका हरेक सडकका फुटपाथहरू व्यापारीहरूको अतिक्रमणमा परेका छन् ।
काठमाडौंको कम्तिमा आधा जनसंख्या पैदलै हिँड्छन् । फुटपाथ यति साँघुरा छन्, दुई जना हात समातेर हिँड्न मिल्दैन । मुख्य सडक फराकिलो पार्दा हिँड्ने बाटो मिचिएको छ । त्यसैमा फुटपाथ व्यापारीले पसल राखेर बस्दा पैदलयात्रुलाई समस्या भएको छ ।
एक घटना :
यो घटना बुधबारको हो । समय बेलुका ६:३० बजे । स्थान नयाँ वानेश्वर । मानिसहरू हतार-हतारमा ओहोर-दोहोर गरिरहेका थिए । फुटपाथ व्यापारीहरूको सामान खरिदको अपिलसँगै गाडीहरूको चिच्याहट आवाज, माहोल कुनै जात्राभन्दा कम थिएन ।
त्यहि माहोलमा उब्ज्यो एक घटना । सुन्दा सामान्य तर भयानक । एक युवतीले शरिरमा छोयो भनेर एक युवकको गल्च्यापु समातेको । यो सब दृश्य नियाली रहेका थिए पंक्तिकार । यो सब हाँस्यास्पद थियो किनकी त्यति बाक्लो भिँडमा शरिरमा छोईनु स्वभाविक थियो । बिचरा ति युवाले एक थप्पड समेत खान भ्याए । त्यतिमै विवाद पनि साम्य भयो ।
अर्को घटना :
गत शनिबार काठमाडौको ब्यस्त मखन टोलमा चार जना युवाले युवतीमाथी केही वस्तु प्रहार गर्दै गरेको भिडियो सार्वजनिक भयो । ति युवाहरूलाई प्रतिकारका रुपमा युवतीले ब्यागले हिर्काउँछिन् । तर युवा भाग्न सफल हन्छन् । यी र यस्तै घटनाहरू राजधानीमा दैनिक घटिरहेका छन् । फुटपाथलाई पार्किङ र व्यापारिक थलो बनाएकै कारण भिडभाड भएर यस्तै विभिन्न प्रकृतिका घटनाहरू दिनप्रतिदिन बढिरहेका छन् ।
फुटपाथ व्यापारीहरूले पुरै सडकपेटी नै ढाक्नेगरि सामानहरू राख्दा आफूहरूलाई पेटीमा हिँड्न समस्या भएको पैदलयात्रुहरू बताउँन् । उनिहरू महानगरले फुटपाथ सम्बन्धी स्पष्ट निति नियम बनाई सडकपेटीमा हिँड्न सहज वातावरण सिर्जना गर्न आग्रह गर्दछन् ।
यसरी फुटपाथमा व्यापार गर्नेहरूलाई हटाउन प्रशासनले विगतमा पटक पटक प्रयास गरेपनि त्यो सफल हुन सकेको छैन । पैदलयात्रु हिड्नका लागि निर्माण गरिएको काठमाण्डौको सडक पेटिमा साँझको समयमा गरिने फुटपाथ व्यापारका कारण सधैँ जसो भिडभाड र अस्तव्यस्त हुने गरेको छ ।
व्यापारीहरू सडकमा पसल थापेर बस्नु आफुहरूको रहर नभई बाध्यता भएको भन्दै सरकारसँग उपयूक्त स्थानको व्यवस्था मिलाईदिन आग्रह गरिरहेका छन् । फुटपाथ व्यापार नै जिवीकोपार्जनको आधार भएको भन्दै सरकारले वैकल्पीक स्थानको व्यवस्था नगरुन्जेल सम्म फुटपाथ नछाड्ने बताउँछन् ।
तर काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल भने फुटपाथ व्यापारीलाई हटाएरै छाड्ने बताउँछन् । लामो समयदेखि फुटपाथ व्यापारीलाई हटाउने दाउपेचमा रहेको महानगरपालिका पहिलाको भन्दा केही सुधार भएको उल्लेख गर्छ ।
उपत्यकाकामा पुरानो वानेश्वरदेखि सिनामङ्गलसम्म, पिङ्गलास्थानदेखि गौशाला चोकसम्म, कोटेश्वर वरीपरी, नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्म, त्रिपुरेश्वरदेखि कलङ्कीसम्म, चावहिलदेखि जोरपाटीसम्म, थापाथलीदेखि लगनखेलसम्म र रत्नपार्क लगायतका ठाउँहरूमा फुटपाथ पसल रहेका छन् ।
अस्तव्यस्त फुटपाथ पसल राख्नेलाई सरकारको कानुन नभएका कारण पनि यो समस्या झन विकराल बन्दै गएको छ । महानगरपालिकाका प्रवक्ता डंगोल भने अब महानगरको निर्णय अस्विकार गर्नेको सामान जफत गरी कार्वाही गरिने बताउँछन् ।
प्रकाशित मिति: बिहीबार, असार १९, २०७६