काठमाडौं : अर्घाखाँचीको सुपादेउराली मन्दिर नजिकै जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कपिलवस्तुको कृष्णनगरबाट सन्धिखर्क जाँदै गरेको लु १ ज १३२९ नम्बरको जीप दुर्घटनामा परेको हो।
मृत्यु हुनेमा एक जना जीपका चालक अन्दाजी ४० वर्षका सुमन्त भुसाल रहेको र अर्का एक जना अन्दाजी ५५ वर्षका पुरुष रहेको घटनास्थलमा रहेका प्रहरी चौकी नरपानीका प्रहरी नायब निरीक्षक रामप्रसाद सुवेदीले जानकारी दिए।
दुर्घटनामा परी सात जना घाइते भएका छन्। जसमा तीन जनाको अवस्था गम्भीर रहेको छ भने ४ जनाको उद्धार गरी उपचारको लागि बुटवल पठाइएको प्रहरी नायब निरीक्षक सुवेदीले जानकारी दिए।
सुपादेउरालीको मन्दिर र खाँचीखोला पुलको बीचबाट पल्टिएको जीप सडकबाट करिब साढे तीन सय मिटर तल खोलामा पुगेको उनले जानकारी दिए।
उक्त दुर्घटना बिहान करिब ११ बजेतिर भएको भए पनि घटनास्थल अत्यन्त अप्ठ्यारो भएको कारण उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार १९, २०७६