आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्याण्ड सेमिफाइनलमा पुगेको छ । न्यूजिल्याण्डलाई ११९ रनले हराउँदै इंग्ल्याण्डले अन्तिम चारको स्थान सुरक्षित गरेकाे हाे।
जिल्यान्डका लागि विकेटकीपर टम लेथमले सर्वाधिक ५७ रनको योगदान दिए । लियाम प्लन्केटको ३९ औं ओभरको तेस्रो बलमा विकेटकीपर जस बटलरबाट सहज क्याच आउट हुनुअघि लेथमले ६५ बलमा ५ चौका प्रहार गरे ।
न्युजिल्यान्डले पहिलो ओभरको पाँचौ बलमा ओपनर हेनरी निकोलसलाई शुन्यमा गुमाएको थियो । उनलाई क्रिस वोक्सले एलवी डब्लू आउट गरे । जोफ्रा आर्चरको छैटौं ओभरको दोस्रो बलमा बटलरले डाईभ हान्दै एक हातले उत्कृष्ट क्याच लिएपछि अर्का ओपनर मार्टिन गुप्टिल ८ रनमा आउट भए । १६ ओभरको पहिलो बलमा कप्तान केन विलियमसन २७ रनमा रन आउट हुनु न्युजिल्यान्डको लागि दुभाग्र्य सावित बन्यो । लगत्तै १७ ओभरको चौथो बलमा अनुभवी ब्याट्सम्यान रोस टेलर २८ रनमा रन आउट भएपछि न्युजिल्यान्डको जित टाढिएको थियो ।
जेम्श निशम १९ र कोलिन डी ग्राण्डहोम ३ रनमा क्याच आउट भएपछि न्युजिल्यान्डको जितको संभावना लगभग सकिएको थियो । मिचेल सान्टनार १२,टिम साउथी र म्याट हेनरीले समान ७ रनको योगदान दिए । इंग्ल्यान्डको जितमा मार्क उडले ९ ओभरमा ३४ रन खर्चेर ३ विकेट हात पारे । त्यस्तै क्रिस वोक्स,जोफ्रा आर्चर,लियाम प्लन्केट,बेन स्टोक्स र आदिल राशिदले समान १ विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ५ रन बनाएको थियो । इंग्ल्यान्डका लागि ओपनर जोनी बेयरस्टोले १ सय ६ रनको उत्कृष्ट शतकीय योगदान दिए । ३२ ओभरको चौथो बलमा म्याट हेनरीले बोल्ड आउट गर्नु बेयरस्टोले ९९ बलमा १५ चौका र १ छक्का प्रहार गरे ।
बेयरस्टोले ९५ बलमा आफ्नो वान डे करिअरको नवौं तथा जारी विश्वकपमा दोस्रो शतक पुरा गरे । बेयरस्टोले यस अघि भारतसँगको खेलमा पनि शतक प्रहार गरेका थिए । विश्वकपका लगातार खेलमा शतक प्रहार गर्ने उनी इंग्ल्यान्डका पहिलो खेलाडी बने ।
ओपनर बेयरस्टोले पहिलो विकेटका लागि जोसन रोयसँग १ सय २३ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिएपनि मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यानले ठूलो इनिङ खेल्न नसक्दा विशाल योगफल बनाउन चुकेको हो। १९ ओभरको चौथो बलमा जेम्श निशमले मिचेल सान्टनारबाट क्याच आउट गराउनुअघि रोयले ६१ बलमा ८ चौका सहित ६० रन जोडे ।
ट्रेन्ट बोल्टले ३१ ओभरको पहिलो बलमा जो रुटलाई २४ रनमा क्याच आउट गराए । बोल्टलेनै विकेटकीपर जस बटलरलाई ३५ ओभरको दोस्रो बलमा कप्तान केन विलियमसनबाट ११ रनमा क्याच आउट गराएपछि इंग्ल्यान्डको रनको गतिमा कमि आएको थियो ।
४२ ओभरको अन्तिम बलमा ठूलो शट खेल्ने धुनमा बेन स्टोक्स बाउन्ड्रीलाई नजिकै ११ रनमा क्याच आउट हुन पुगे । कप्तान इओन मोर्गनले ४० बलमा ५ चौका प्रहार गर्दै ४२ रनको योगदान दिए । क्रिस वोक्स ४,आदिल राशिद १६ र लियाम प्लन्केटले १५ रनको योगादान दिए ।
न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्ट,म्याट हेनरी र जेम्श निशमले समान २ विकेट लिए । मिचेल सान्टनार र टिम साउथीको नाममा १-१ विकेट रह्यो ।
प्रकाशित मिति: बिहीबार, असार १९, २०७६