काठमाडौं : कैलालीको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटालाई प्रहरीले पत्रकार सम्मेलनबाटै पक्राउ गरेको छ ।
बुधबार बिहान अत्तरिया उद्योग वाणिज्य संघको कार्यालयमा पत्रकार सम्मेलन चलिरहेका बेला ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले देवकोटालाई नियन्त्रणमा लिएको हो । गत असार १० गते नगरसभा चलिरहेका वेला अवरोध गर्न खोजेको भन्दै देवकोटासहित अत्तरिया उद्योग वाणिज्य संघका अन्य ८ जना पदाधिकारी विरुद्ध गोदावरी नगरपालिकाले मुद्दा दर्ता गरेको थियो ।
नगरपालिकाको तेस्रो नगर सभाको उद्घाटन सत्रको कार्यक्रमलाई अवरोध पुर्याएको भन्दै केही व्यक्ति विरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता गरिएको थियो ।नगरसभालाई बिथोल्न र अवरोध पुर्याउन पटक पटक प्रयास गरेकाले सार्वजनिक हित विरुद्धको मुद्दा दर्ता गरेको नगरपालिकाले जनाएको छ । ।
असार १० गते सम्पन्न नगरसभाको उद्घाटन सत्रको कार्यक्रममा आफूहरुले पनि अत्तरियाका व्यबसायीहरुको समस्या राख्न पाउनुपर्ने भन्दै अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष देवकोटा नेतृत्वको समूहले कार्यक्रममा पटक पटक अवरोधको प्रयास गरेका थिए । प्रमुख अतिथि पूर्वमन्त्री लेखराज भट्ट र विशिष्ठ अतिथि प्रदेशका मन्त्री कृष्णराज सुबेदी बोल्ने क्रममा पटक पटक माईकको तारमा अवरोधको प्रयास गरिएको थियो । पार्टीका शीर्ष नेताहरु उपस्थित कार्यक्रममा नै अवरोध गरेपछि संघिय सांसद लेखराज भट्ट निकै आक्रोशित बनेका थिए ।
घटनापछि थप विवाद चर्काउन नहुने भन्दै नेता भट्टसँग दैनिक स्थानीय र काँग्रेसका केन्द्रीय नेता कार्यकर्ताहरुले औपचारिक र अनौपचारिक छलफल गर्दै आएका थिए ।
प्रकाशित मिति: बुधबार, असार १८, २०७६