काठमाडौँ — त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले एकै व्यक्तिलाई १२ वटा विषयमा नम्बर थपेर ३ वटा डिग्री (स्नातकोत्तर) को प्रमाणपत्र दिएको पाइएको छ । अख्तियारको नियन्त्रणमा रहेका अधिवक्ता सुरेन्द्रकुमार कोइरालालाई पनिकाले मानविकी संकायको अर्थशास्त्र, समाजशास्त्र र ग्रामीण विकास विभागअन्तर्गतका विषयहरूमा नम्बर थपेर प्रमाणपत्र जारी गरेको हो । जथाभावी नम्बर थपेको आरोपमा पनिका मानविकी संकायका गोप्य शाखाका अधिकृत रामु कर्माचार्यसमेत अख्तियार छानबिनमा छन् ।
त्रिविले गरेको छानबिनमा कर्माचार्यले कोइरालालाई अर्थशास्त्र, समाजशास्त्र र ग्रामीण विकास विभागअन्तर्गतका १२ विषयमा नम्बर थपिदिएको पाइएको हो । अर्थशास्त्रका ६, समाजशास्त्र र ग्रामीण विकासका ३/३ विषयमा नम्बर थपिएको त्रिविका रजिस्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए । कोइरालाले पनिकाबाट डिग्रीका ४ प्रमाणपत्र लिएका थिए । तीमध्ये ३ वटामा नम्बर थपिएको भेटिएको हो । राजनीतिकशास्त्र स्नातकोत्तरको प्रमाणपत्रमा भने कुनै कैफियत नभेटिएको उनले बताए । शिक्षा र कानुन संकायमा त्रिविबाटै उनले स्नातक गरेका थिए । ती विषयका सम्बन्धमा समेत छानबिन गरिएको थियो । शिक्षा र कानुन विषयको प्रमाणपत्रमा कुनै त्रुटि नभेटिएको पनिकाले जनाएको छ ।
विषय शिक्षकबाट उत्तरपुस्तिका परीक्षण भएर आएपछि कम्प्युटरमा अंक चढाउने बेलामा ‘कर्मचारीले बदमासी गरेको’ छानबिन समितिको ठहर छ । परीक्षकले मार्कस्लिपमा दिएको नम्बर कम्प्युटरमा इन्ट्री गराउने क्रममा बढाएको उप्रेतीले बताए । ‘मार्कस्लिपसम्म नम्बर ठीक छ,’ उनले भने, ‘कम्प्युटरमा इन्ट्री गर्ने बेला बदमासी गरेको पाइयो ।’ अर्थशास्त्रअन्तर्गतका ६ विषयमा उनले ८० सम्म थप गरेका छन् । अन्य विषयमा ५ देखि १० नम्बरसम्म बढाइएको छ ।
त्रिवि पनिकाले परीक्षा केन्द्रबाट उत्तरपुस्तिकाहरू संकलनपछि कोडिङ र प्याकिङ गरेर परीक्षणमा पठाउँछ । परीक्षकले कापी बुझेको २१ दिनभित्र परीक्षण सकेर पनिकामै बुझाउनुपर्ने व्यवस्था छ । उत्तरपुस्तिकासँगै परीक्षकलाई मार्कस्लिप दिइएको हुन्छ । उत्तरपुस्तिका परीक्षणबाट प्राप्त नम्बर दुई प्रति मार्कस्लिपमा उल्लेख गरेर पनिकामा बुझाउनुपर्छ । त्यसपछि मार्कस्लिपका आधारमा पनिकाको गोप्य शाखामा अंक इन्ट्री गर्ने काम हुन्छ । ‘छुट्टाछुट्टै कम्प्युटरबाट मार्कस्लिपमा आएको अंक इन्ट्री गरिन्छ,’ उनले भने, ‘यसरी इन्ट्री गरिएको नम्बर म्याचिङ गरेपछि मात्रै मूल इन्ट्री गरेर लेजर प्रिन्ट हुन्छ ।’ कोइरालाको हकमा मार्कस्लिपको नम्बर कम्प्युटरमा इन्ट्री गर्ने बेलामा गडबड गरिएको हो । ‘दुवै कम्प्युटरमा इन्ट्रीमै गडबड गरेर समान अंक दिएपछि त्यतिबेला त्रुटि पत्ता लाग्न सकेन,’ रजिस्ट्रार उप्रेतीले भने, ‘सोहीअनुसार लेजर, मार्कसिट प्रिन्ट भयो ।’ गोप्य शाखामा रहने टेबल १ र टेबल २ कम्प्युटरमा चढाएको नम्बर फरक परे मात्र पुन: मार्कस्लिप हेरेर रुजु गर्ने काम हुन्छ । कर्माचार्यले कोइरालासँगको लेनदेनमा टेबल १ र २ दुवै कम्प्युटरमा समान अंक चढाइदिएको अख्तियार स्रोतको दाबी छ । आजकाे कान्तिपुर दैनिकमा समाचार छ ।
त्रिवि उपकुलपति तीर्थराज खनियाँले संस्थागतभन्दा पनि व्यक्तिगत बदमासीका कारण प्रमाणपत्रमा नम्बर थपिएको दाबी गरे । ‘परीक्षा विश्वविद्यालयको मुटुजस्तो हो,’ उनले भने, ‘नक्कली प्रमाणपत्रले विश्वसनीयतामा असर गरेको छ ।’ पनिकामा भएको बदमासीबारे अध्ययन गरेर अख्तियारलाई समेत प्रतिवेदन दिइसकेको उनले बताए । ‘दोषी कर्मचारीलाई निलम्बन गरिसकियो, अन्य संकायको पनि छानबिन गरेर विश्वविद्यालयको साख जोगाउँछौं,’ उनले भने ।
प्रकाशित मिति: बुधबार, असार १८, २०७६