भारतले एकदिवसिय विश्कप क्रिकेट प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ ।
मंगलबार राती बंगलादेशलाई २८ रनले पराजित गर्दै भारत सेमिफाईनलमा प्रवेश गरेको हो । यो हारसँगै बंगलादेश भने प्रतियोगिताबाटै बाहिरिएको छ । ३ सय १५ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश ४८ ओभरमा अल आउट हुँदै २ सय ८६ रनमा समेटियो ।
बंगलादेशका लागि सकीब अल हसनले सर्वाधिक ६६ रनको योगदान दिए । बंगलादेशले दशौं ओभरको तेस्रो बलमा तामिम इकवाललाई २२ रनमा गुमाएको थियो । अर्का ओपनर सौम्य सरकार ३३ रनमा पेभिलिएन फर्किए ।
युजभेन्द्र चहलले विकेटकीपर मुश्फिकुर रहिमलाई २४ रनमा सामीबाट क्याच आउट गराए । हार्दिक पान्ड्याले लिटन दासलाई २२ रनमा क्याच आउट गराएपछि बंगलादेशको जितको संभावना टाढिएको थियो ।
तल्लोक्रमका शब्बिर रहमान र मोहम्मद सैफुद्दीनले सातौ विकेटका लागि उत्कृष्ट ६६ रनको साझेदारी गर्दै पुन जितको संभावना देखाएका थिए । तर जसप्रित बुमराहले ४४ ओभरको पहिलो बलमा शब्बिरलाई ३६ रनमा बोल्ड आउट गरेपछि भारत खेलमा फर्किएको थियो ।
मोहम्मद सैफुद्दीन ३८ बलमा ९ चौका सहित ५१ रनमा अविजित रहेपनि टोलीको हार टार्न सकेनन् ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय १४ रन बनाएको थियो भारतका लागि ओपनर रोहित शर्माले १ सय ४ रनको उत्कृष्ट शतकीय योगदान दिए ।
प्रकाशित मिति: बुधबार, असार १८, २०७६