माडी नगरपालिकाले त्यहाँका बासिन्दालाई बिरामी पर्दा आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउने भएको छ । माडी वा अन्य क्षेत्र जहाँ उपचार गरे पनि उनीहरुले रगतमा अनुदान पाउने भएका हुन् । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले साउन महीनाबाट लागू हुने गरी माडीवासीले नेपालका जुनसुकै स्थानबाट रगत लिनु पर्दा लाग्ने रकम नगरपालिकाले व्यहोर्न लागेको बताए ।
उनका अनुसार क्षेत्रीय रक्त रञ्चार केन्द्र भरतपुरसँग सहकार्य गरेर माडीमा रक्तसञ्चार एकाइसमेत स्थापना गर्न लागिएको छ । क्षेत्रीय कार्यालय भरतपुरसँग सम्झौता गरी माडीवासीको परिचयपत्रको आधारमा निःशुल्क रगत दिने व्यवस्था मिलाइँदैछ । ढकालले कार्यालयलाई एकमुष्ट भुक्तानी गर्ने व्यवस्था गर्न लागिएको जानकारी दिए । काठमाडौँ, पोखरालगायतका ठाउँहरुमा उपचार गर्दा आवश्यक पर्ने रगत भने रसिदको आधारमा नगरपालिकाले भुक्तानी गर्ने व्यवस्था मिलाइनेछ उनले भने । रगत खरीद गर्दा एक युनिटको रु ८५० खर्च हुने गर्दछ । सुत्केरी लगायतका बिरामीको शल्यक्रिया गर्दा र क्यान्सरका विरामीको उपचारमा बढी रगत आवश्यक पर्ने गर्दछ । न्यून आय भएका जनताले रगतको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले अनुदान दिन लागिएको ढकालको भनाइ छ ।
क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले नगरवासीलाई निःशुल्क रगत उपलव्ध गराउने नेपालकै पहिलो नगरपालिका माडी भएको बताए । माडी नगरपालिकाले दुई छोरी जन्माएर परिवार नियोजन गर्ने दम्पतीका छोरीहरुलाई कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने घोषणा गरेको छ । छोरी भएमा भ्रूण हत्यासमेत हुने गरेकाले छोरा र छोरी समान हुन् भन्ने सन्देश दिन माडीमा पढाइ हुने प्राविधिक शिक्षासमेतमा निःशुल्क गर्न लागिएको प्रमुख ढकालले जानकारी दिए ।
नगरपालिकाले गर्भवती महिलालाई तीन पटकसम्म भिडियो एक्स–रे निःशुल्क गरेको छ । वघौडा अस्पतालमा गर्भवतीलाई भिडियो एक्स–रे गर्दा लाग्ने रु ७०० रकम साउन महीनादेखि अनुदान दिन लागिएको ढकालको भनाइ छ । जिल्लाको सदरमुकाम भरतपुरसम्म आउन चितवन राष्ट्रिय निकुञ्ज पार गर्नुपर्ने माडीमा ४० हजार जनसङ्ख्या बसोबास गर्दछन् ।--रासस
प्रकाशित मिति: मंगलबार, असार १७, २०७६