काठमाडौं : साझा यातायातमा चढने यात्रुले अब कार्डबाट पैसा तिर्न सक्ने भएका छन्। लामो अध्ययन र प्रयासपछि साझाले स्मार्ट कार्ड सञ्चालनमा ल्याएको हो। राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा स्मार्ट कार्डको सार्वजनिक गरिएको हो ।
प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले कार्ड स्वाइप गरेर स्वाइप मेसिन र कार्डको सार्वजिनक गरे। स्मार्ट सहरको अवधारणाअनुसार साझामा स्मार्ट कार्ड सुरु गरिएको पौडलले बताए। कागजबाट अब कार्डमा गएको छ। पैसाको बार्गेनिङ हराएको छ। समयको बचत र दोहोरो बातचितबाट उन्मुक्ति मिल्ने छ उनले भने। स्मार्ट कार्ड करिव दुई महिनाको परीक्षणपछि संचालनमा ल्याइएको साझा यातायात सहकारीका कार्यकारी निर्देशक भुषण तुलाधरले बताए।
उनका अनुसार सबै खालका बसमा यो कार्ड प्रयोग गर्न सकिनेछ। दुई सय रुपैयाँमा कार्ड खरीद गर्न सकिन्छ। दुई सय रुपैयाको ब्यालेन्स हुन्छ। कार्डले खुद्रा पैसाको झन्झट मेटिने र यात्रु ठगिनबाट रोकिने साझाले जनाएको छ। साथै काठमाडौं महानगरपालिकाले ल्याएको पिक एण्ड ड्रप नीतिका लागि उपयोगी हुने साझाको विश्वास छ। कार्ड लिने व्यक्तिले साझाका सहचालकसँग रहेको मेसिनमा स्वाइप गर्नुपर्नेछ। दूरीका आधारमा सहचालकले भाडा तय गर्ने र त्यही आधारमा स्वाप गरेर भाडा तिर्न सकिन्छ। स्वाइप गर्नेबित्तिकै मेसिनले रसिद प्रिन्ट गर्छ।
तत्कालका लागि यो व्यवस्था भए पनि निकट भविष्यमा दुवै ढोकामा मेसिन राख्ने र अटोमेटिक यात्राअनुसार काट्ने व्यवस्था मिलाउन लागिएको साझाले जनाएको छ। जिपिएस सिस्टमले अटोमेटिक यात्रा दुरी नाप्छ र लागेको भाडा काट्ने साझाले जनाएको छ। पोखरामा समेत यो कार्ड प्रयोगमा ल्याउन लागिएको छ भने उपत्यकाका अरू बस कम्पनीसँग समेत सहकार्य गर्न लागिएको साझाले जनाएको छ। एउटा कार्ड भए देशैभर जुनसुकै बसमा यात्रा गर्दा पनि प्रयोग गर्न मिल्ने बनाउने तयारी भएको तुलाधरको भनाइ छ।
प्रकाशित मिति: मंगलबार, असार १७, २०७६