काठमाडौं : काठमाडौंको नयाँबानेश्वर चोकमा आकाशेपुल बनाउन सुरु गरिएको छ । पटक फरक-फरक निकायले योजना बनाउँदै स्थगित गर्दै आएको बानेश्वरको आकासे पुल अब भने बन्ने भएको हो ।
सधैं वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित संसद भवन बाधक बन्दै आएकोमा अब भने पैदल यात्रुको चाप बढ्दै गएपछि सडक विभागले नयाँ उपाय खोजेको छ । कामको थालनी गर्दा निर्माण हुने पक्का भएको हो ।
बानेश्वर चोकमा आकाशेपुल बनाउँदा संसद भवन र सांसदसहित विशिष्ट व्यक्तिको सुरक्षामा जटिलता थपिने सुरक्षा निकायको विश्लेषण थियो ।अब बानेश्वर चोकमै पुल नबनाएर चोकभन्दा करिब ५० मिटर तल (माईतीघर-बानेश्वर खण्डतर्फ) आकाशेपुलको निर्माण थालिएको सडक विभागमा प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिए ।
सडक विभाग अन्तरगतको काठमाडौं सडक डिभिजनले करिब ३ करोडको लागतमा यो पुल निर्माण गर्दैछ । यो आकाशेपुल ‘मुभेबल’ अर्थात् भविष्यमा खोलेर अर्को स्थानमा लैजान सकिने खालको हुनेछ ।
तत्कालै संसद भवन पनि नसर्ने र चोकमा पैदलयात्रुको संख्या पनि थपिँदै जाने अवस्था बनेपछि वारपार गर्न सकिने साधारण पुल बनाउन लागेको सडक विभागका अधिकारीहरु बताउँछन् ।
स्टिल स्ट्रक्चरमा निर्माण हुने पुलको निर्माण सक्न लामो समय नलाग्ने प्रवक्ता सापकोटाले जानकारी दिए । यो पुललाई भविष्यमा झिक्नुपर्ने अवस्था आए अर्को स्थानमा लगेर तुरुन्तै जडान गर्न सकिने छ । विभागले काठमाडौंमा १२ स्थानमा यस्तो आकाशेपुल बनाउँदैछ ।
प्रकाशित मिति: मंगलबार, असार १७, २०७६