बजेट विनियोजनको विषयलाई लिएर सत्तारूढ नेकपा संसदीय दलको बैठकमा मन्त्री र सांसदबीच चर्काचर्की परेको छ ।
नयाँ बानेश्वरमा सोमबार बसेको दलको बैठकमा बजेट विनियोजन गर्दा मन्त्रीहरू आफ्नो निर्वाचन केन्द्रमा मात्र केन्द्रित भएको भन्दै सांसदहरूले सरकारको आलोचना गरे ।
भीम रावल, लालबहादुर थापालगायतले बजेट विनियोजन विभेदकारी रहेको, गुटगत मानसिकताले हेरिएको भन्दै सरकारको आलोचना गरे ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले देशको मन्त्रीभन्दा पनि निर्वाचन क्षेत्रको मन्त्री भएर बजेट विनियोजन गरेको सांसद थापाले भनाइ राखेपछि केहीबेर चर्काचर्की परेको हो ।
‘मन्त्रीको गृहजिल्ला धनुषामा यो वर्ष राष्ट्रिय गौरवको योजनाको नाममा रणनीतिक सडक भनेर १७ र क्रमागत तथा नयाँ सडक भनेर ७९ वटा राखिएको छ । बाजुरामा यो वर्ष एउटा पनि नयाँ सडकको योजना राखिएको छैन, प्रधानमन्त्रीको एक खालको स्पिरिट छ । मन्त्रीको कार्यशैली प्रधानमन्त्रीको स्पिरिटमा ठेस पुर्याउने खालको छ,’ सांसद थापाले भने ।
जवाफमा मन्त्री रघुवीर महासेठले सांसद रावलले ढाँटेको, गलत बोलेको तथा आफूकहाँ पटक–पटक धाउने गरेको बताएपछि सांसद थापा जुरुक्क उठे । आजको नयाँ पत्रिकामा समाचार छ ।
प्रकाशित मिति: मंगलबार, असार १७, २०७६