बिरामीको उद्धारका लागि हवाई एम्बुलेन्स सञ्चालन गर्नेलगायत महत्वपूर्ण योजना समेटेर सरकारले ‘राष्ट्रिय स्वास्थ्य नीति २०७६’ सार्वजनिक गरेको छ । सरकारी अस्पतालमा अनलाइन टिकटको व्यवस्था गर्ने बुँदासमेत नयाँ स्वास्थ्य नीतिमा समेटिएको छ । यो कार्यान्वयनमा आएपछि बिरामीले चाहेको सरकारी अस्पतालमा रोजेको डाक्टरसँग अनलाइनबाटै समय लिएर जँचाउन सक्नेछन् ।
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी स्वास्थ्य नीतिमा समेटिएका महत्वपूर्ण व्यवस्थाबारे जानकारी दिए । सरकारी अस्पतालमा बिरामीको बढ्दो चाप व्यवस्थापन गर्न ई–हेल्थ सेवा सुरु गर्न लागिएको र कार्यान्वयनमा आएपछि बिरामीले रोजेको डाक्टरलाई देखाउने गरी घरमै बसेर टिकट काट्न सक्ने बताए । नयाँ व्यवस्था कार्यान्वयनका लागि बोलपत्रसमेत आह्वान भइसकेकाले चाँडै कार्यान्वयनमा आउने मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय स्वास्थ्य नीति, २०७१ ले नेपालको अन्तरिम संविधान, २०६३ को मर्म तथा भावनाअनुरूप जनसहभागितामूलक निःशुल्क आधारभूत स्वास्थ्य सेवालाई जोड दिएको थियो । नेपालले स्वास्थ्यमा गरेका सर्वव्यापी पहुँचसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई सम्बोधन गर्दै दिगो विकासको लक्ष्य हासिल गर्न मन्त्रालयले राष्ट्रिय स्वास्थ्य नीति, २०७६ ल्याएको मन्त्री यादवको दाबी छ । नीतिमा ६ उद्देश्य, २५ नीति तथा एक सय ४६ रणनीति छन् । आजकाे नयाँ पत्रिकामा समाचार छ ।
प्रकाशित मिति: मंगलबार, असार १७, २०७६