आईसीसी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार राती सम्पन्न वेस्टइन्डिजसँगकाे खेलमा श्रीलंका २३ रनले विजयी भएकाे छ ।
जितसँगै श्रीलंकाले शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने अंकगणितीय संभावना कायमै राखेको छ । ३ सय ३९ रनको विशाल लक्ष्य पछ्याएको वेस्टइन्डिज निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय १५ रन बनायो । वेस्टइन्डिजका लागि युवा खेलाडी निकोलस पुरनले १ सय १८ रनको योगदान दिएपनि जितका लागि पर्याप्त भएन ।
४८ ओभरको पहिलो बलमा एन्जिलो मेन्थिसले कुशल परेराबाट क्याच आउट गराउनु अघि पुरनले १ सय ३ बलमा ११ चौका र ४ छक्का प्रहार गरे । विशाल लक्ष्य पछ्याएको वेस्ट इन्डिजले तेस्रो ओभरको दोस्रो बलमै सुनिल एम्ब्रिसलाई ५ रनमा गुमाएको थियो । १६ ओभरको दोस्रो बलमा कसुन रजिथाले क्रिस गेललाई ३५ रनमा क्याच आउट गराएपछि वेस्ट इन्डिज दबाबमा परेको थियो । गेलले ४८ बलमा २ छक्का र १ चौका प्रहर गरे । शिमरोन हिटमायर २९ रनमा रन आउट भए । जोसन होल्डर २६ र कार्लोस बर्थवेट ८ रनमा आउट भएपछि वेस्ट इन्डिज ३४.३ ओभरमा १९९-६ को कमजोर अवस्थामा पुगेको थियो ।
तल्लोक्रमका एविएन एलिनले ३२ बलमा ५१ रन जोड्दै इनिंग उकासेका थिए । ४५ ओभरको पहिलो बलमा निकोलस पुरनसँग रनमा तालमेल गर्न नसक्दा रन आाउट भएपछि वेस्ट इन्डिजको जित टाढिएको थियो ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ३८ रन बनाएको थियो । श्रीलंकाको लागि युवा खेलाडी अभिष्का फर्नान्डोले १ सय ३ मा १ सय ४ रनको महत्वपूर्ण योगदान दिए ।
कप्तान दिमुथ करुणारत्ने र कुशल परेराले पहिलो विकेटका लागि १५।२ ओभरमा ९३ रनकोे साझेदारी गर्दै श्रीलंकालाई उत्कृष्ट सुरुवात दिलाएका थिए । यी दुईबीचको साझेदारी कप्तान जोसन होल्डरले शाई होपबाट दिमुथ करुणारत्नेलाई ३२ रनमा क्याच आउट गराउँदै तोडे । उनले ४८ बलमा ४ चौका प्रहार गरे । १९ ओभरको पहिलो रन आउट हुनुअघि कुशलले ५१ बलमा ८ चौका प्रहार गर्दै ६४ रनको योगदान दिए ।
३२ औं ओभरको पाँचौ बलमा फबिएन एलिनले कुशल मेन्डिसलाई ३९ रनमा क्याच आउट गरे । होल्डरले एन्जिलो मेथ्युजलाई २६ रनमा बोल्ड आउट गरे । तल्लोक्रमका लाहिरु थिरिमनेले ३३ बलमा ४ चौका सहित ४५ रनमा अविजित रहे ।
प्रकाशित मिति: मंगलबार, असार १७, २०७६