काठमाडौै: व्यापार कति रुपैयाँबाट शुरु गर्न सकिन्छ ? दश हजार, बीस हजार, पचास हजार वा लाखौं रुपैयाँमा ? यहि त हो हाम्रो सोच हैन र ? अहँ, यो सब कथा–कहानीलाई ईन्कार गर्दै एक ७३ वर्षिय बृद्धले गज्जवको फुटपाथ व्यापार सुभारम्भ गरेका छन् ।
नयाँ बानेश्वर चोकमा ७३ वर्षिय विष्णु ढकाल हातमा हरियो प्लास्टिकको झोला लिएर आए । झोलामा भएको तरकारीलाई फुटपाथमा राखेर त्यही झोला फिजाए । फिजाएको झोलामाथि तरकारी मिलाउन थाल्छन् ति बृद्ध । एक केस्रा लसुन एक छेउमा राखे । दुई दाना प्याज त्यसको दायाँपट्टि राखे । प्रन्ध्र दाना कागती लसुनको पछाडि मिलाएर राखे । त्यसैको अघिल्लो भागमा दश वटा करेलालाई तीन ठाउँमा भाग लाएर ग्राहकको प्रतिक्षामा बस्छन् ।
दायाँ हात निधारमा राख्दै एकोहोरो तरकारीलाई नियाल्छन् । ढकाल यसरि बानेश्वर चोक छेउमै बसेर फुटपाथ व्यापारमा लागेको देख्दा पंक्तिकार एकछिन सोचमग्न हुन्छन् ।
काभ्रेपलाञ्चोक पाँचखालका विष्णु ढकालको कहानी अलि रोचक छ तर बुझ्नेहरुका लागि भने गहन संसँगै प्रेरणादायी खालको पनि छ । उनि १८ वर्ष इण्डियन आर्मीमा काम गरेका, ६ वर्ष भारतीय पुलिस बनेका, ६ वर्ष भारतीय सरकारी रेलवे स्टेशनमा काम गरेका र १८ वर्ष भारतमै घर बनाउने काम गरीसकेको सुनाउँछन् । लाग्छ, उनले सब गरीसके अब कुनै आवश्यकता छैन ।
तर ढकालले अहिले सानो रकममा फुटपाथ व्यापार शुरु गरेका हुन् । हजारदेखि लाखौंको लगानीमा मात्र व्यापार गर्न सकिन्छ भन्ने सोच भएकाहरुका लागि उनी एक उदाहरण हुन् । उनले लगभग तीनसयको लागतमा फुटपाथमा व्यापार थापेका हुन् । आजभोली उनि दैनिक तीन सयको तरकारी खरिद गरेर त्यहि तरकारी बेच्ने गर्दछन् । बुढेसकालमा यो के लागि ? यहि प्रश्न थियो पंक्तिकारको । उनि उत्तर दिन्छन्, ‘यो आम युवावर्गहरुका लागि, ज–जसले नेपालमा काम छैन भन्छन्, लाखौं रुपैयाँको मात्र व्यापार हुन्छ सोच्छन्, तिनैहरुका लागि हो यो व्यापार ।’ भन्दै खिसिक्कै हाँस्छन् ढकाल ।’
विष्णु ढकालका दुई छोरा र चार छोरी छन् । पंक्तिकारलाई इकिंत गर्दै उनि भन्छन्, ‘तपाई जस्तो युवाहरुले सके आफ्नै देशमा केहि गर्नु पर्छ भन्छु, देश पनि सुध्रिने र आफ्नो भविष्य पनि सुनिश्चित ।’ आफुले त्रिपन्न वर्ष भारतमा बिताएर पनि त्यति सन्तुष्ट नभएको बताउने उनि यो व्यापारबाट सन्तुष्ट छन् ।
कसरी शुरु गरे फुटपाथ व्यापार ?
ढकालले ५३ वर्ष भारतमा बिताए । आफ्नो जीवनभर भारतमै बिताएका उनि आफ्नो देशको सेवा गर्न नपाएकोमा दुःखी छन् । हुन त आर्मीमा काम गरेको मासिक पेन्सन पनि पाउँछन् । तर किन ७३ वर्षको उमेरमा उनले सानो फुटपाथ व्यापार गर्न थाले ? यो जिज्ञासाको विषय पनि होे ।
यो जिज्ञासालाई उनि एउटै वाक्यमा उत्तर दिन्छन् यो फुटपाथ व्यापारबाट बेरोजगार युवाहरु केही सिकुन् । सानो रकमबाट पनि व्यापार गर्न सकिन्छ भन्ने सोच बसाल्न फुटपाथ व्यापार शुरु गरेको उनि बताउँछन् ।
उनि भन्छन्, ‘लाखौं रुपैयाँले मात्र व्यापार गर्ने सोच भएकै कारण दैनिक हजारौं युवाहरु विदेशिन बाध्य छन्, तर व्यापार सानै रकमबाट शुरु गर्यो भने सफलता हात पार्न सकिन्छ ।’ आफ्नै देशमा सानै रकम लगाएर केही गर्न सक्यो भने व्यक्तिको भविश्य पनि सुनिश्चित हुने उनि बताउँछन् । उनले भने, केही रकम आम्दानी पनि हुने र दिनभर गफिदै बस्नुभन्दा यहाँ बढी सन्तुष्ट पाइन्छ भनेर सुरु गरेको हुँ ।
ढकालको इण्डियन आर्मीको यात्रा
विष्णु ढकाल तेह्र वर्षका थिए । उनि कामको खोजीमा वि.स २०१६ सालतिर भारतको कोलकत्ता गए । भारतमा गएपछि केही नेपालीहरु सँग चिनजान बढ्यो । त्यतिखेर नेपाली भनेपछि भारतीयहरु धेरै खुसी हुने उनि बताउँछन् । उनि भन्छन्, ‘नेपालीको छोरो आउँछ भनेर भारतका आर्मी पुलिसहरु जक्सन जक्सनमा बस्थे, कोहि नेपाली भेट्यो की कुरा गरेर लगिहाल्थे आर्मीमा भर्ना हुन ।’
त्यतिखेर म सानै थिएँ । म सँग नागरिकता थिएन । चार पाँच वर्ष भारतमै काम गरिसकेपछि फेरि नेपाल आएर नागरिकता बनाएँ । त्यसपछि साथीहरुले आर्मीमा भर्ना गराए ।
म त जाँन्न भन्थें तर केही नेपाली साथीहरुले कमाई राम्रो हुन्छ भने पछि आर्मीमा भर्ना भएको उनि बताउँछन् । वि.स २०२२ सालमा उनि आर्मीमा भर्ना भए । उतिखेर उनको मासिक आम्दानि तीन हजार थियो । त्यो समयमा नेपालमा भने तीन चार रुपैयाँ ज्याला पर्ने उनि बताउँछन् ।
१८ वर्ष सम्म काम गर्दा तीन हजार देखि प्रन्ध्र हजार सम्म मासिक तलव पुगेको उनि बताउँछन् । १८ वर्ष पछि उनले आर्मीबाट बिदा लिए । अहिले उनि पेन्सन पनि पाइरहेका छन् । उनि वर्सेनी पेन्सन लिन भारत जाने गर्दछन् ।
बन्दुक समात्दा
आर्मीमा जानु अघि ढकालले हातमा कहिल्यै बन्दुक समातेका थिएनन् । उनि आर्मीमा जाने समयमा भारत र पाकिस्तानको युद्ध चलिरहेको थियो । त्यो समय होे सन् १९६५ को । त्यतिखेर कश्मीर र जम्मुमा अधिकार जमाउनको लागि दुई देशविच युद्ध थियो ।
सन् १९७१ मा पनि पाकिस्तान र भारतको युद्ध भयो त्यसमा पनि उनि सहभागी भए । उनि भन्छन्, ‘बन्दुक त्यतिखेरै चलाइयो, धेरैलाई गोली पनि हानें, ढकाल खुसी हुँदै भन्छन् आफु भने बाँचियो ।’
आर्मीबाट रिटायर भएसँगै पुलिसमा भर्ति भएको उनि बताउँछन् । उनले पुलिसमा पनि करिब ६ वर्ष काम गरे । त्यतिखेर उनको ७ हजार ५ सय मासिक तलब थियो । आफ्नी आमा बिमारी भएपछि काम छोडेर नेपाल आएको उनि बताउँछन् ।
ढकाल के भन्छन् ?
काठमाडौं बानेश्वरमा बस्दै आएका ढकालका छोराले फुटपाथ ब्यापार नगर्नुहोस् नभनेको होइनन् तर आफ्नो मनले नमानेको उनि बताउँछन् । ढकालले ७ कक्षा पढेका हुन् । गाउँमा ढकाल बुद्धिजीवी भनेर चिनिन्छन् ।
पहिला गाउँमा आफुलाई प्रधानपञ्च र क्षेत्रिय सदस्य बन्नुहोस् भनेर प्रस्ताव आएको उनि बताउँछन् तर घरायसी समस्याले आफुले प्रस्ताव अस्विकार गरेको उनले बताए ।
ढकाल अहिले दैनिक ३ सय रुपैयाँको तरकारी ल्याएर बिक्री गर्दै आएका छन् । कहिले कालीमाटी फलफूल तथा तरकारी बजार त कहिले घरमै फलाएको तरकारी ल्याएर उनि बिक्री गर्दै आएका छन् । तीन सय रुपैयाँको तरकारीमा पनि दैनिक एक सय रुपैयाँ फाइदा हुने गरेको उनि बताउँछन् । उनि भन्छन्,‘सके सबैले स्वदेशमै केही गरौं ।’
प्रकाशित मिति: सोमबार, असार १६, २०७६