काठमाडौं : आज संखुवासभामा नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ता र गस्तीमा रहेको प्रहरीबीच गोली हानाहान भएसँगै नेपाली सेनाका तीनवटा हेलिकोप्टर घटना स्थल पुगेका छन् । जिल्लाको सिलिचोङ गाउँपालिका–१ होयङमामा सोमबार बिहान गोली हानाहान भएपछि सेनाका हेलिकप्टरहरु त्यहाँ पुगेका हुन् ।
काठमाडौंबाट पुगेका नेपाली सेनाको हेलिकोप्टरले गोली हानाहान भएको सिलिचोङको क्षेत्रमा हवाई गस्ती गरिहेका जनाइएको छ। सदरमुकाम खाँदबारी पुगेर सेनाको हेलिकोप्टरले सिलिचोङको बस्ती र मकालुवरुण जंगलको क्षेत्रमा गस्ती गरिरहेका हुन्। तीनैहेलिकोप्टरबाट काठमाडौँबाट सशस्त्र र नेपाल प्रहरीका ५० जना भन्दा धेरै सिपाहीँ सिलिचोङमा उतारिएको छ।
स्रोतका अनुसार सशस्त्र प्रहरी निरीक्षक उमेश थापा र नेपाल प्रहरीका प्रहरी निरीक्षक शेखरजंग मल्लको नेतृत्वमा २५/२५ जनाको बेग्लाबेग्लै टोली सेनाको एमआई १७ हेलिकोप्टरबाट संखुवासभामा उतारिएको छ।
सेनाका हेलिकोप्टरसँगै सदरमुकामबाट सशस्त्र प्रहरीको २० जनाको टोली स्थल गस्तीमा छ । त्यसैगरी प्रहरी निरीक्षकको कमाण्डमा थप १७ जनाको टोली पनि घटनास्थलतर्फ परिचालित भएको छ।
ताम्कु र सिसुवाबाट पनि प्रहरीको टोली घटनास्थलतर्फ परिचालित भएको छ । अन्य क्षतिबारे प्रहरीले केही बोलेको छैन। यसैबीच जिल्ला सुरक्षा समितिको बैठक सदरमुकाम खाँदबारीमा बसिरहेको छ ।
प्रकाशित मिति: सोमबार, असार १६, २०७६