तनहुँको व्यास नगरपालिका–५ अलैँचेका सन्तबहादुर थापाले साँगेखोलामा माछा मार्न थालेको ३४ वर्ष पुग्यो । घरबाट माछा मार्न जाल बोकेर हिँडेको दिनमा खाली हात फर्किनुपरेन । दिनमा १० किलोसम्म माछा मारेर बिक्री गरेका उनलाई आजभोलि दिनमा एक÷दुई किलो माछा मार्न पनि मुस्किल छ । साँगेखोलामा माछा मार्न जाल हानिरहेका बेला भेटिएका थापाले आजभोलि खोलामा माछा पाउनै गाह्रो भएको गुनासो गरे । थापाले भने, करेन्ट लगाउने, विष हाल्ने प्रवृत्ति बढेपछि आजभोलि माछा लोप हुँदै गएको छ । माछा पाउनै छाडियो । थापाका अनुसार जाल हानेर भन्दा करेन्ट र विष हाल्दा बढी र छिटो माछा पाइने भएकाले युवाले यसको प्रयोग गर्न थालेका छन् ।
जाल बोकेर दिनभरि हिँड्दा आफूले १० किलोसम्म माछा मारेको अनुभव सुनाउँदै थापाले अहिले मुस्किलले दुई किलोसम्म माछा मार्ने गरेको बताए । कुनै समय माछाका लागि प्रसिद्ध रहेको यस खोलामा अहिले विषादी प्रयोगले माछामा कमी आएकाले विष र करेन्ट प्रयोगलाई नियन्त्रण गर्नुपर्ने थापाले माग गरे । व्यास नगरपालिका–५ पतेनीका जितबहादुर दरैले दुई वर्षदेखि साँगेखोलामा माछा मार्दै आएका छन् । घर निर्माणको काम गर्ने दरैले फुर्सदको समयमा खोलामा माछा मार्ने गरेको बताए । पहिला–पहिला खुट्टामा माछा ठोक्किन्थ्यो, तर अहिले माछा पाउन गाह्रो छ, दरैले भने । दरैले बढीमा छ÷सात किलोसम्म माछा मार्ने गरेको बताउँदै अचेल दुई किलो मार्न धौधौ पर्ने जानकारी दिए ।
उनका अनुसार साँगेखोलामा माछा निकै कम रहेको छ । विष र करेन्ट प्रयोगले माछा लोप हुँदै गएको हुन सक्ने दरैले बताए । पहिला–पहिला प्रशस्त माछा पाइने साँगेखोलामा माछा लोप हुँदैछ, विष र करेन्ट हान्ने कार्यलाई सम्बन्धित निकायले रोक लगाउनुपर्छ , उनले भने । बल्छीको प्रयोगले आफूले माछा मार्ने गरेको उनले बताए । साँगखोलाको माछा किलोको रु एक हजार २०० सम्म बिक्री हुने गरेको छ ।
माछाका लागि बजारको कुनै समस्या नरहेको र माछा बेचेर घरखर्च चलाउन सहयोग पुगेको दरैले बताए । करेन्ट प्रयोग र विष प्रयोगले खोलामा रहेका माछासँगै अन्य जलप्राणी पनि लोप हुने भएकाले सम्बन्धित निकायले यसलाई रोक लगाउनुपर्ने आवाज उठ्न थालेको छ ।
प्रकाशित मिति: सोमबार, असार १६, २०७६