भक्तपुर: भक्तपुरमा आइतबार दिउँसो आफ्नै छोरीले प्रेमीसँग मिलेर ६० वर्षिया आमाको हत्या गरेको खुलेको छ।
आईतबार चाँगुनारायण वडा नम्बर ७ बाँसबारीमा साबित्री भट्टराईको आइतबार घाँटी रेटेर हत्या भएको थियो। हत्या अनुसन्धानमा जुटेको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले छोरीसहित चार जनालाई पक्राउ गरेको छ।
सिरहाका मोहम्मद नासिदलाई प्रहरीले आइतबार राति धादिङको गजुरीबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार नासिदले महिलाको हत्या गर्न भारतबाट दुई जनालाई काठमाडौं बोलाएका थिए। हत्या गरी हेटौडा पुगेका ती दुबैलाई प्रहरीले समातेको छ। उनीहरु मोहम्मद रसिद र अरुण कुमार थिए।
हत्यामा संलग्न छोरी ईश्वरी भट्टराई छिन्। उनी भक्तपुरकै गार्मेन्ट कारखानामा काम गर्थिन्। सोही क्रममा नासिदसँग भेट भएको थियो। आमाले दुईबीचको सम्बन्ध मन नपराएका कारण नासिदले हत्या योजना बनाएको महाशाखाले जनायो।
प्रहरीका अनुसार हत्या गरिएकी महिलाको घर सिन्धुपाल्चोक हो। छोरी र उनका प्रेमीबीचको सम्बन्ध आमाले थाहा पाएपछि हत्या गरिएको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: सोमबार, असार १६, २०७६