काठमाडौँं: समयमै रोपाइँ हुन नसकेकाले यो वर्षको धान उत्पादन घट्ने भएको छ । दस दिन ढिलो सुरु मनसुन अझै सक्रिय हुन नसकेको र बजारमा मल अभावसमेत देखिएकाले करिब ५ प्रतिशत धान उत्पादन घट्ने प्रक्षेपण सरकारले गरेको हो । हालसम्म १४.२५ प्रतिशत मात्रै रोपाइँ हुन सकेको छ ।
‘धान खेती मनसुनमा आधारित छ, गत वर्ष मनसुनले साथ दिँदा उत्पादन राम्रो भयो। अहिले सामान्य असर परेको देखिन्छ,’ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले भने, ‘१० दिन ढिला सुरु भएको मनसुनका कारण यो वर्ष धान उत्पादन घट्ने प्रक्षेपण गरेका छौं।’
मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा ५६ लाख १० हजार टन धान उत्पादन भएको थियो। धानको उत्पादकत्व ३.७ प्रतिशत थियो। आगामी वर्षमा भने केही ह्रास हुने देखिएको हो। बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार धान रोपाइँ हुने क्षेत्रफल १५ लाख ५२ हजार ४ सय ६९ हेक्टर हो। यसमध्ये हालसम्म १४.२५ प्रतिशत (२ लाख २१ हजार २ सय २६ हेक्टर) मा मात्रै धान रोपाइँ भएको छ। उच्च पहाडमा ३९ प्रतिशत, मध्य पहाडमा २२ प्रतिशत र तराईमा ११ प्रतिशत धान रोपाइँ भएको छ।
तराईमा साउन दोस्रो सातासम्म रोपाइँ हुने भएकाले अहिल्यै आत्तिनुपर्ने अवस्था नभएको उनले बताए। ‘अपडेट गरिरहेकै छौं। वर्षा भइरहेको छ। आत्तिहाल्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘यही अवस्थामा पनि ५० लाख टनमाथि धान उत्पादन हुन सक्छ।’
तर बजारमा मल पर्याप्त छैन। धान बालीलाई मुख्यतः युरिया र डीएपी मल चाहिन्छ। सरकारसँग मल छैन। कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाका अनुसार डीएपी २ हजार ३ सय ७९ टन, युरिया ४ हजार ८ सय ६६ टन, पोटास २ हजार २९ टन मौज्दात छ। जानकारका अनुसार तीन बालीका लागि साढे ८ लाख टन मल आवश्यक पर्छ। साढे ४ लाख टन आपूर्ति गर्न सके अभाव हुँदैन। सरकारले साढे ३ लाख टन मात्रै आपूर्ति गर्न सकेको छ।आजकाे कान्तिपुरमा समाचार छ ।
प्रकाशित मिति: सोमबार, असार १६, २०७६