अध्यागमनलगायत आकर्षक कार्यालयमा लामो समय बसेका नायब सुब्बासँग करिब डेढ करोड रुपैयाँभन्दा धेरै अकुत सम्पत्ति भेटिएको छ ।
पछिल्लो समय इलाका प्रशासन कार्यालय बर्दिबासमा कार्यरत नासु ललितकुमार झासँग एक करोड ५६ लाख ७९ हजार २६ रुपैयाँबराबरको अकुत सम्पत्ति भेटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहेकै वेला झामाथि अख्तियारले छानबिन थालेको थियो । उनले १७ असार ०४० मा सरकारी जागिर सुरु गरेका थिए ।
त्यसयता तीन करोड ८५ लाख ४३ हजार दुई सय ३४ रुपैयाँबराबरको सम्पत्ति जोडेकोमा दुई करोड २८ लाख ६४ हजार दुई सय आठ रुपैयाँबराबरको मात्रै वैध रूपमा आर्जन गरेको भेटिएको अख्तियारले जनाएको छ ।
स्रोत खुल्न नसकेको एक करोड ५६ लाख सम्पत्ति जफतको माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । अकुत सम्पत्तिमा श्रीमती सुचितादेवी झासमेतलाई प्रतिवादी बनाई अख्तियारले मुद्दा चलाएको छ । अकुत सम्पत्ति उनले श्रीमतीका नाममा राखेका थिए । आजको नयाँ पत्रिकामा समाचार छ ।
प्रकाशित मिति: सोमबार, असार १६, २०७६